
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबीच कटु सम्बन्ध रहिआएको छ ।
पश्चिम बंगालको निर्वाचनमा यो कटुता झनै बढेको थियो भने ममताले भव्य बहुमतका साथ चुनाव जितेपछि राज्य र केन्द्र सरकारबीच वाग्युद्ध जारी छ ।
यसैबीच ममताले मोदीलाई मालदा आँप पठाएर सम्बन्धमा मिठास ल्याउने प्रयास गरेकी छन् ।
ममताले बंगालमा पाइने मालदा, हिमसागर र लक्ष्मणभोग आँप मोदीलाई पठाएकी हुन् । त्यस्तै राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम वेंकैया नायडु, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहलाई पनि उनले आँप पठाएकी छन् ।
त्यसो त उनले कांग्रेस अध्यक्ष सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि आँप पठाएकी छन् ।
ममताको आँप कूटनीतिले राज्य र केन्द्र सरकारबीचको तिक्तता घटाउन मद्दत गर्छ कि गर्दैन भनी भविष्यले बताउनेछ ।
त्यसो त ममता बनर्जीले आँप पठाउने परम्परा पहिलोपटक मुख्यमन्त्री बनेको वर्ष सन् २०११ मा शुरू गरेकी थिइन् । उनले अहिलेसम्म परम्परा धानिरहेकी छन् ।