बिहीवार शुरू हुने राष्ट्रियसभा अधिवेशनको पहिलो दिनको बैठकमा दलका नेताहरूले समसामयिक विषयमा सम्बोधन गर्ने भएका छन् ।
अपराह्न ४ बजेपछि बस्ने बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले समसामयिक विषयमा बोल्ने कार्यक्रम तय भएको हो ।
बिहीवारै बस्ने दोस्रो बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बोल्नका लागि समय लिएका छन् ।
दोस्रो बैठकमा गृहमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको संघीय संसदका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
बैठकको अन्तिममा १७ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरिने छ । राष्ट्रिय सभाका पूर्व सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल तथा पूर्व प्रतिनिधिसभा सदस्यहरू एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियारको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
संविधान सभाका सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ ।