नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काम कारवाहीका कारण राष्ट्रपति संस्थाको गरिमा घटेको आरोप लगाएको छ ।
राष्ट्रिय सभाको अधिवेशन आरम्भको बैठकलाई बिहीवार सम्बोधन गर्दै राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको कार्यशैलीका कारण राष्ट्रपतिको गरिमा घटेको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री ओलीको सरकारको काम कारवाहीका कारण राष्ट्रपतिको गरिमा बढेको छ कि घटेको छ ? राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ने हो कि गणतन्त्रमा विश्वास राख्ने सबैले गर्ने होइन ? आज स्थिति के छ ?’ अधिकारीले प्रश्न गरे ।
अधिकारीले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेका कारण प्रतिनिधि सभा विघटनको अवस्था सिर्जना भएको समेत आरोप लगाए ।
‘प्रधानमन्त्रीले संघीय संसद्मा विश्वास गर्नु भएन, फलस्वरूप बहुमतको सरकार ५ सदस्यीय कामचलाउ सरकारमा परिणत भएको छ,’ उनले भने ।
वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले एमाले दलका नेता सुमन प्याकुरेललाई जवाफ दिँदै राजनीतिक विवाद संवैधानिक रूपमा आएकाले त्यस्तो विवाद निरुपणका लागि सर्वोच्च जानुपरेको बताए । त्यसअघि प्याकुरेलले लोकतन्त्रका लागि लडेको दल निर्दलीयता फर्काउन खोजेको आरोप लगाएका थिए ।
‘हामीले हरेक राजनीतिक विवाद न्यायपालिकामा लगेका छाैं । प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन । कतिपय राजनीतिक दलहरूले निर्दलीयताको वकालत गरिरहनुभएको छ, त्यो दुःखद् छ,’ प्याकुरेलले भने ।