२८ जेठ २०८३, बिहीबार

सशस्त्रका अधिकांश एसएसपी बढुवाको रिङबाहिर, तीन डीआईजी रिक्त भए पनि दुई जना मात्र योग्य

असार १८, २०७८
सशस्त्रका अधिकांश एसएसपी बढुवाको रिङबाहिर, तीन डीआईजी रिक्त भए पनि दुई जना मात्र योग्य

 सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नगरेकाले यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।

नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटनासमेत बन्नेछ ।

सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीनदिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिनेछ ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

सशस्त्र प्रहरीमा गत मंसिरमै सात जना डीआईजी रिक्त भए पनि त्यसबेला ६ जनालाई मात्रै बढुवा गरिएको थियो । त्यसपछि माघमा प्रजाभक्त श्रेष्ठ र साता दिनअघि अर्का डीआईजी प्रवीणकुमार श्रेष्ठले अवकाश पाएपछि तीन डीआईजी पद रिक्त भएको हो । मंसिरदेखि नै कसैले पनि डीआईजीका लागि अनिवार्य मानिएको तालिम नगरेकाले एक पद रिक्त नै रहने अवस्था आएको हो ।

हालको एसएसपीको वरिष्ठताका क्रममा न्यौपानेपछि विदुर खड्का रहे पनि उनले सो तालिम नगरेकाले उनी बढुवामा रिङभन्दा बाहिर छन् । त्यस्तै, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि रिङभन्दा बाहिर छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका थिए ।

डीआईजी बढुवालगत्तै सशस्त्र मुख्यालयले नायब उपरीक्षक (डीएसपी)सम्मको बढुवा अघि बढाउनेछ । सशस्त्रमा हाल डीएसपीदेखि नायब महानिरीक्षक (डीआईजी)सम्म १ सय ६ पद रिक्त छ ।

सशस्त्रमा हाल डीआईजी तीन, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ पद रिक्त छ । अहिले दुई जना डीआईजीमा बढुवा हुँदा १० एसएसपी पद रिक्त हुनेछ ।

डीआईजी बढुवापछि रिक्त हुने १० वटा पदमा भने कायम मुकायम (कामु) का रूपमा बढुवा गरिनेछ । यसअघि सिसं १ का नौ जनालाई दुईपटक गरी कामुका रूपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिक रूपमा सईमा प्रवेश गरेका प्रवीण कँडेल र सिसं २ का नौ जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरूलाई क्रमागत रूपमा कामुको जिम्मेवारी दिन लागिएको हो ।

जसअनुसार, प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत र माधवप्रसाद पौडेल कामुु एसएसपी बन्नेछन् । तर, सिसं २ का कसैलाई पनि अहिले कामुमा बढुवा गर्न नहुने मत पनि बलियो बन्दै गएको छ । सिसं २ का ३७ जना पहिलो चरणमा एसपीमा बढुवा भएका थिए । कामु एसएसपी बन्न नसक्नेहरू यो लबिङमा लागेको स्रोतको दाबी छ ।

उनीहरूलाई कामु एसएसपी नदिँदा भने डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही प्रभावित हुने हुुनाले बढुवा थाल्नुुपर्ने अर्काथरीको लबिङ छ । अहिले नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएका डीएसपीहरु एसपीमा बढुुवा हुनेछन् । सिसं ३ मा भर्ना भएका डीएसपीहरु पनि बढुवाको लाइनमा छन् । प्रहरीबाट आएका पुराना र सिसं ३ का लाई मिलाएर बढुुवा गर्नुपर्ने विषयमा पनि लबिङ भइरहेको छ । राजधानी दैनिकमा रोशन श्रेष्ठले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्