११ असार २०८३, बिहीबार
एमालेको बहुप्रतीक्षित बैठक

एमाले केन्द्रीय कमिटी बैठक : वामदेव बालुवाटार प्रस्थान, माधव नेपाल पक्षको सहभागिता अनिश्चित

एमाले केन्द्रीय कमिटी बैठक : वामदेव बालुवाटार प्रस्थान, माधव नेपाल पक्षको सहभागिता अनिश्चित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज  बस्दैछ ।

नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको बैठक तीन वर्षपछि शुक्रवार बस्न लागेको हो । 

एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहान ११ बजेपछि बैठक बस्ने लोकान्तरलाई जानकारी दिए ।

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्युँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । 

बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सर्वोच्चले एमाले ब्युँताइदिए यता पार्टीको बैठकमा वामदेव सहभागी भएका थिएनन् ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी हुने/नहुने अनिश्चित छ । बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । 

नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने आफूहरूको निष्कर्ष रहेको उपाध्यक्ष भीम रावलले बताए ।

यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्याएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो । 

नेपाल पक्षको मागबमोजिम बुधवार दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी ब्युँताउँदै शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरिएसँगै माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कारवाही निष्प्रभावी भएको थियो । कर्णाली प्रदेशमा माओवादी सरकार बचाउन फ्लोर क्रस, बाग्मती प्रदेशमा बागी उम्मेदवार खडा गरेको तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कारवाही भएको थियो । 

संस्थापन पक्षका एक नेताले आजको बैठकमा नेपाल पक्षका नेताहरू पनि सहभागि हुने विश्वास व्यक्त गरे । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि एमालेको दोस्रो तहका नेताहरूबीच बिहीवार र शुक्रवार पनि छलफल भएको छ ।

आजको बैठकले महाधिवेशनको विषयमा केही निर्णय लिने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्