काठमाडौं, २४ जेठ- ‘आमा’ अर्थात् आफूलाई भन्दा आफ्ना छोराछोरीलाई बढी माया गर्ने भगवानको अर्काे रूप । जब तिनै आमालाई एकैचोटी छोराछोरीको वियोगको पीडा थपिन्छ, तब ती आमाको धैर्यता टुट्छ र आफूलाई सम्हाल्न सक्दिनन् ।

यस्तै एउटी आमाको धैर्यता टुटेको छ, बाँकेको कोहलपुर नगरपालिका सिद्धनगरकी ५४ वर्षीया डिलकुमारी पौडेलको । तीन महिनाको अन्तरालमा आफ्नो मुटुको टुक्रा दुवै छोरा गुमाएर एकाएक कोख रित्याउन विवश ती आमाले सोमबार साँझ आत्महत्या गरिन् । आमाको आत्महत्यापछि पौडेल परिवारमा तीन महिनाको अन्तरालमा तीन जनाको ज्यान गएको छ, राजधानी दैनिकमा खबर छ ।
तीन महिनाको अन्तरालमा आफ्ना (२८ र २६ वर्षीय) दुवै छोरा गुमाउनु पर्दा आमा डिलकुमारीको धैर्यताले काम गरेन र पुत्रवियोगमा रोइरहेकी ती आमाले सोमबार साँझ विष सेवन गरी आत्महत्या गरेको डिलकुमारीकी भतिजी विमलाकुमारी पौडेलले बताइन् । एकैघरमा तीन जनाको मृत्यु भएपछि पौडेल परिवारमा यतिखेर ठूलो बज्रपात परेको छ र कहिल्यै नमेटिने घाउ लागेको छ भने आफन्त, नातेदार र उनीहरूलाई चिन्ने सबैका आँखा आँसुले भिजेका छन् ।
आत्महत्याबारे प्रहरी अनुसन्धान र पोस्टमार्टमपछि मंगलबार अपराह्न कोहलपुरको अर्गैया घाटमा एकातिर जन्म दिने आमा डिलकुमारी र अर्काेतिर उनकै कोखबाट जन्मेका छोरा राजुको शवको दाहसंस्कार गरियो, जुन अत्यन्तै वियोगान्त दृश्य थियो ।
गत १३ फागुनमा महाशिवरात्रिको साँझ नेपालगन्जनजिकै खजुरा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा २६ वर्षीय कान्छो छोरा हरि पौडेललाई घटनास्थलमै गुमाएकी डिलकुमारीले सोही दुर्घटनामा गम्भीर घाइते भई उपचारमा रहेका जेठा छोरा राजुलाई पनि सोमबार साँझ गुमाउन पुगेकी थिइन् ।
जेठा छोरा राजुकी सालीको विवाहमा गएर घर फर्किने क्रममा राजु र हरि दाजुभाइ चढेको मोटरसाइकल सोही साँझ खजुरामा दुर्घटना भएको थियो ।