सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । सरकारले चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले सम्झौताअनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ त्यसपश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने जानकारी दिए । तर सरकारले चीनबाट कति खोप ल्याउन लागेको हो भन्नेबारे भने केही खुलाएको छैन ।
यद्यपि खोपको निरन्तर आपूर्तिबाट कोभिडविरुद्धको खोप अभियान सुचारु हुने व्यवस्था मिलाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ कम्पनीबाट बाहेक कोभ्याक्स सुविधाबाट समेत छिट्टै थप खोप प्राप्त गरी कोरोनाविरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले विश्वास दिलाएको छ ।