
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङमा सवारीसाधन क्षति पुर्याउने गरी आएको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रुपमा सञ्चालनमा आएको छ ।
सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकको लेदोसहितको पहिरो हटाएको छ भने क्षतिग्रस्त सवारी साधनलाई सडक किनारामा राखिएको छ ।
जबाङमा अविरल वर्षाका कारण झरेको पहिरोले पाँच वटा सवारीसाधन पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
स्थानीय तह र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ । रातिदेखिको पहिरोले राजमार्गको ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो ।