
काठमाडौं, २४ जेठ — सिरियाको अलेप्पोमा चर्केको युद्धमा सर्वसाधारणले पाएको पीडाको प्रतीक बनेका बालक ओमरान दक्नीशको नयाँ तस्वीर सार्वजनिक भएको छ ।

गत वर्ष रगतले लथपथ ओमरानलाई भिडियोमा कैद गरिएको थियो । त्यतिखेर सरकारी फौजले विद्रोहीबहुल इलाकामा हवाई आक्रमण गर्दा ओमरानका दाजुको मृत्यु भएको उद्धारकर्ताहरू बताउँछन् ।
आइतवार ओमरान अलेप्पोमा रहेको नयाँ घरमा बसिरहेको तस्वीर सार्वजनिक भएको थियो । यो शहर अहिले सरकारको नियन्त्रणमा छ ।
सरकारसमर्थक पत्रकारहरूसँगको अन्तर्वार्तामा ओमरानका बुवाले छोरोलाई प्रोपागान्डाका रूपमा प्रयोग गरिएको गुनासो गरे ।
मोहम्मद दक्नीशले इरानको अल–आलम टीभीका एक संवाददातालाई सिरियाली विपक्षी समूह र विदेशी मिडियाले राष्ट्रपति बशर अल–असदविरुद्ध आक्रमण गर्न आफ्नो छोराको तस्वीर प्रयोग गरेको बताए ।
‘उनीहरू उसको रगतको व्यापार गर्न चाहन्थे, त्यसैले तस्वीर सार्वजनिक गरे,’ उनले थपे ।
दक्नीशले छोरोको तस्वीर लिइएको बेलामा आफू ऊसँगै बसिरहेको र आफूले कुनै प्लेन उडेको नसुनेको बताए ।
ओमरानलाई सानतिनो चोटपटक मात्र लागेको र उनको अनुहारमा देखिएको रगत आफ्नो घाउबाट चुहिएको बुवा दक्नीश बताउँछन् ।
उनले भग्नावशेष बनेको घरमा आफ्ना अरू तीन सन्तानलाई खोज्दै गर्दा बन्दुकधारीहरूले ओमरानलाई बाहिर रहेको एक एम्बुलेन्समा हुलेर भिडियो खिचेको दक्नीशको भनाइ छ । त्यसपछि उनीहरूले ओमरानलाई आवश्यकता नभएपनि अस्पताल लगेका थिए ।

ओमरानलाई एउटा क्षतिग्रस्त भवनबाट एक हतियारविहीन व्यक्तिले बोकेर लगी एम्बुलेन्सको पछिल्लो सीटमा राखिएको भिडियो फूटेज उपलब्ध थियो । यसलाई विपक्षी अलेप्पो मिडिया सेन्टरले खिचेको थियो र त्यतिबेला रुसको हवाई आक्रमणको सिलसिला चलेको उसले बताएको थियो ।
पछि सरकारी सेनाले पूर्वी अलेप्पोतर्फ अघि बढेपछि दक्नीश र उनको परिवार सरकारनियन्त्रित क्षेत्रतिर गएका थिए । उनीहरू विद्रोहीनियन्त्रित इद्लिब प्रान्ततिर गएनन् ।
बीबीसीबाट