
निर्वाचन आयोगले मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचनको दोस्रो चरणको लागि असोज ३१ र कात्तिक १ गते उम्मेदवारको मनोनयन गर्ने गरी निर्वाचन कार्यतालिका प्रस्ताव गरेको छ ।
कात्तिक २६ गते हुने निर्वाचनका लागि असोज २० र २१ गते मनोनयन हुनेछ ।
निर्वाचन आयोगले सोमवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो ।
आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय प्रदान गरेको छ । असार ३१ गतेदेखि निर्वाचन अवधि शुरू हुने आयोगको कार्यतालिकामा उल्लेख छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले दलहरूले चुनावको तयारी थालेका छैनन् ।