१० असार २०८३, बुधबार

विपक्षीलाई बाँदरसँग तुलना गर्दै कोमल वलीले सदनमा वाचन गरिन् यस्तो कविता

विपक्षीलाई बाँदरसँग तुलना गर्दै कोमल वलीले सदनमा वाचन गरिन् यस्तो कविता
फाइल फोटो

राष्ट्रिय सभा सदस्य कोमल वलीले राष्ट्रिय सभाको बैठकमा सरकारविरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता वाचन गरेकी छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् ।

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरू भएको बताइन् ।

उनले भनिन्- “यो बेलामा राष्ट्रका सबै शक्तिहरू एक ठाउँमा उभिनु पर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरूलाई गर्न दिने न आफूले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको समृद्धि कसरी हुन्छ ?'

उनले सरकारविरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शीर्षकको कविता वाचन गरिन् ।

यस्तो थियो कविता :

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारो जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुदैन ।
कहिले मिलेका छन्, कहिले फुटेका छन्
इर्ष्याको भट्टीमा आफैँलाई भुटेका छन्,
आँखाभरी लोभपापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन्,
भोलिको प्रतीक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको ।
बाँदरहरू खेती गर्दैनन्, बाली विनास गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरूसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारो जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुदैन ।

salt training

कमेन्ट गर्नुहोस्