०७ असार २०८३, आइतबार

राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघको सुझाव : पुनर्कर्जालाई मौद्रिक नीतिमा निरन्तरता दिऔं

राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघको सुझाव : पुनर्कर्जालाई मौद्रिक नीतिमा निरन्तरता दिऔं

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन सुझाव दिएको छ । 

महासंघ अध्यक्ष शेखर गोल्छाले आफूहरूले राष्ट्र बैंकका गभर्नरलाई भेटेर मौद्रिक नीतिमा पुनर्कर्जा, पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिन सुझाव दिएको बताएका हुन् । 

मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यावसायिक बैंकमा तरलता कायम हुने उनको भनाइ छ । 

‘यो मौद्रिक नीतिले गत वर्ष गरिएका खास गरेर पुनर्संरचना, पुनर्तालिका र पुनर्कर्जा अझ बढी एग्रेसिभ तरिकाले निरन्तरता होस् भन्ने हाम्रो चाहना थियो,’ उनले भने, ‘खासगरी व्यावसायिक बैंकहरूमा तरलता प्रशस्त होस् भन्ने हाम्रो चाहना छ ।’

महासंघले ब्याजदर दुई अंकमा नबढाउनका लागि पनि सुझाव दिएको छ । अहिले विषम परिस्थिति भएका कारण ब्याजदरलाई एक अंकमै कायम गराउनका लागि आग्रह गरिएको अध्यक्ष गोल्छाले बताए। 

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यवसायीले धानेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायका लागि कर्जा लिनका लागि सहज गराउन पनि माग गरेका छन् । 

राष्ट्र बैंकले कुल कर्जाको १० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीलाई दिने व्यवस्था मिलाउन पनि सुझाव  दिएको उनको भनाइ छ। ‘साना र मझौला व्यवसायीलाई अहिले पनि कर्जा प्राप्त गर्न एकदमै ठूलो समस्या छ,’ उनले भने, ‘ठूला व्यवसायीहरूले आफ्नो व्यक्तिगत ग्यारेन्टीमा या आफ्नो कुनै धितो राखेर ऋण लिन सक्छन् । तर साना र मझौला उद्योगी, व्यवसायीहरूलाई धितो राख्नलाई पनि गाह्रो छ ।’

कुल कर्जाको १० प्रतिशत साना र मझौलालाई एउटा प्रोजेक्ट फाइनान्सिङको हिसाबले सबै व्यावसायिक बैंकहरूमा बाध्य बनाउनुपर्ने सुझाव पनि दिएको गोल्छा बताउँछन् । 

नेपाल राष्ट्र बैंक समक्ष महासंघले दुई वर्षका लागि कसैलाई पनि कालो सूचीमा नराखिदिनका लागि माग गरेको छ । 

कमेन्ट गर्नुहोस्