
नेकपा एमालेभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलका एक जना संयोजक सुवास नेम्वाङले मंगलवारको बैठक अलि लामो समय बसेर विषयगत रूपमा छलफल हुने बताएका छन् ।
कार्यदलको बैठक मंगलवार दिउँसो १ बजे बस्दैछ ।
‘आज अलि लामो समय बैठक बसेर भएपनि सहमति खोजौँ भन्ने कुरा भएको छ, सकारात्मक नतिजाको आशा गरौं,’ नेम्वाङले लोकान्तरसँग भने ।
यसअघि विभिन्न चरणका अनौपचारिक बैठकमा भएका सहमतिका आधारमा औपचारिक छलफल गर्ने उनले बताए ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी सहमति खोज्न गठित एमाले कार्यदल लामो समयपछि सोमवारदेखि सक्रिय भएको थियो ।
संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल समूहबाट उपाध्यक्ष भीम रावल कार्यदलको संयोजक छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले सहमतिका लागि अधिकतम प्रयास हुने बताए ।
‘लामो समय हामीले अनौपचारिक छलफल गर्यौं, आज औपचारिक छलफल हुन्छ, छलफल सकारात्मक ढंगले अगाडि बढेकाले हामी निकै आशावादी छौं,’ पाण्डेले मंगलवार लोकान्तरसँग भने ।
कार्यदलले पार्टीमा लामो समयको तिक्तता मेट्ने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त हस्ताक्षर सहितको अपिल प्रकाशित गरेर पार्टी एकताको सन्देश दिन सिफारिश गर्ने तयारी गरेको छ ।
पार्टी विवाद हल गर्न गत जेठ २ गते गठन भएको कार्यदलमा संस्थापन पक्षका तर्फबाट नेम्वाङसहित उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । नेपाल पक्षबाट रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।
हिजोको बैठकपछि नेता नेपाल पक्षका सदस्यहरूले कार्यदलले सौहाद्रपूर्ण ढंगले काम शुरू गरेको बताएका थिए ।