
काठमाडौं, २४ जेठ – सेवाग्राहीबाट १० लाख रुपैयाँ घूस लिएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जको मालपोत कार्यालयका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
बाँकेस्थित मालपोत कार्यालय, नेपालगञ्जमा कार्यरत् नायब सुब्बा (नासु) मान बहादुर केसी, खरिदार नरबहादुर सारू मगर र लेखापढी व्यवसायी सर्जु थापाले जग्गा कारोबारमा किर्ते गरी घूस लिएको भेटिएपछि अख्तियारले नियन्त्रणमा लिएको हो । सोमवार अख्तियारले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
उनिहरूले जग्गाको निर्णय प्रमाणित गरी विक्री गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनिहरूलाई चार लाख ९८ हजार रुपैयाँ घूस रकम लिँदै गर्दाको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका धम्बोजीस्थित भेरी मिट सपबाट नियन्त्रणमा लिएको हो ।
उनिहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।