०४ साउन २०८३, सोमबार

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई भन्यो – हामी मिल्न सकेनौं, प्रक्रियामा जानुस्

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई भन्यो – हामी मिल्न सकेनौं, प्रक्रियामा जानुस्

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसँग मिल्न सक्ने अवस्था नरहेको भन्दै प्रक्रियामा गएर विवाद टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगमा मंगलवार भएको जसपाका दुवै पक्षको छलफलमा उपेन्द्र पक्षले मिल्न सकिने अवस्था नरहेको बताएको थियो । 

‘मिल्ने अवस्था रहेन, हामी मिल्न सकेनौं, प्रक्रियामा जानुस् भनेर आयोगलाई भन्यौं,’ आयोगमा भएको छलफलपछि उपेन्द्र पक्षीय नेता महेन्द्रराय यादवले भने, ‘आयोगले ७ दिनको समय दिएको छ, त्यसपछि आठौं दिनमा हामीलाई बोलाउँछ ।’

महन्थ पक्षीय नेता अनिल झाले पनि आयोगमा उपेन्द्र यादवले मिल्नसक्ने अवस्था नरहेको बताएको जानकारी दिए । आयोगको छलफलमा अध्यक्ष यादव, अर्का अध्यक्ष महन्थ ठाकुर लगायत दुवै तर्फका शीर्ष नेताहरू सहभागी भएका थिए । 

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो । दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

२०७७ वैशाख १२ गते तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि जसपा विभाजनउन्मुख भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्