१० असार २०८३, बुधबार

निषेधाज्ञामा चोरिएका ३३ मोटरसाइकल बरामद गरेर सवारी धनीको जिम्मा

निषेधाज्ञामा चोरिएका ३३ मोटरसाइकल बरामद गरेर सवारी धनीको जिम्मा

राजधानी काठमाडौं उपत्यकामा हुने सवारीसाधन चोरीका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले  जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी  नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणलाई निरन्तरता दिँदै विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाइकल मंगलवार एक कार्यक्रमबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाइकल र १० वटा स्कुटर रहेका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएको र अन्य मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् । विशेष गरी चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरू चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको बुझाइ छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए ।

हराएकामध्ये करीब ७० प्रतिशत पल्सर मोटरसाइकल हुने गरेको ट्राफिक महाशाखाको तथ्यांकबाट देखिएको समेत उनले जानकारी दिए ।

चालू आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानबाट बरामद गरी कारबाहीका लागि प्रहरी वृत्तमा पठाएको समेत महाशाखाले जनाएको छ ।

सवारीसाधनमा अतिरिक्त ह्वील लक, डिस्क लक, सेक्युरिटी साइरनहरू जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ नगर्न महाशाखाले विशेष अनुरोध गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्