
रसबरी एक लोकप्रिय मिठाइ हो । प्रायः शुभअवसरहरूमा रसबरी खाने गरिन्छ । भोजहरूमा दही रसबरीको डेजर्ट राख्ने चलन छ । यो रसबरी कसरी अनि कहिले बन्यो होला त ?

रसबरी बनाउनका लागि दूध फटाएर छेना (छोक्रा) निकाल्नुपर्छ । तर वर्षौंपहिले दूध फटाउन मनाही गरिएको थियो र त्यसका पछाडि धार्मिक मान्यता थियो । गाईलाई भारतवर्षमा सर्वाधिक पूज्य पशु मानिन्छ र उसको दूध फटाउनु अशुभ मानिन्थ्यो ।
सन् १४९८ मा भास्को डी गामा भारत आए सन् १५११ मा मलक्का विजय गरेपछि पोर्चुगलका व्यापारीहरूले भारतका बंगालीहरूसँग सम्पर्क बढाए । बिस्तारै पोर्चुगलीहरू बंगालको चित्तगाउँमा कारखाना खोलेर काम गर्न थाले । उनीहरू पनिर खुबै रुचाउँथे र उनीहरूको जनसंख्या बढ्दै जाँदा पनिरको माग पनि बढ्यो ।
व्यापार बढेपछि भारतीयहरू पनि दूध फटाएर छेना निकाल्न थाले । अनि बंगालका हलुवाइहरूले छेनामाथि विभिन्न प्रयोग गर्न थाले ।
यही क्रममा नोवीनचन्द्र दास नामक एक हलुवाइले कलकत्ताको बागबजारमा छेनाबाट मिठाइ बनाउने प्रयोग गरे । उनले छेनालाई गोलो बनाएर चास्नीमा उमाले र रसबरी (बंगालीमा रोसोगुल्ला) को आविष्कार गरे । नोवीनको पसलमा रसबरी चाख्ने हरेक मानिसले यसलाई रुचाउँदै गएपछि यो प्रसिद्ध भयो ।
त्यही रसबरी भारतबाट नेपाल भित्रिएको हो । रसबरी आविष्कार गर्ने नोवीनले सोन्देश र कोस्तूरी पाक जस्ता मिठाइ पनि बनाएका हुन् ।
एजेन्सी