
पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी सहमति खोज्न गठित नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
अर्थ मन्त्रालयमा दिउँसो झण्डै २ बजेदेखि बैठक चलिरहेको छ । बैठकमा कार्यदलका १० जना सदस्य सहभागी छन् ।
बैठकमा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ र माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष भीम रावलले नेतृत्व गरेका छन् ।
झण्डै ५० दिन निष्क्रिय रहेको कार्यदलले सोमवारदेखि काम शुरू गरेको थियो ।
बैठकअघि लोकान्तरसँग कुरा गर्दै कार्यदलका संयोजक नेम्वाङले मंगलवार अलि लामो बैठक बसेर भए पनि सहमति खोजिने बताएका थिए ।
अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि सहमतिका लागि अधिकतम प्रयास हुने बताए ।
कार्यदलका अर्का एक सदस्यले पटक–पटकका अनौपचारिक छलफलका क्रममा धेरै विषयमा सहमति नजिक पुगिएको र आज एउटा निष्कर्षमा पुगिने लोकान्तरलाई बताए ।
कार्यदलले पार्टीमा लामो समयको तिक्तता मेट्ने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई संयुक्त हस्ताक्षरसहित अपिल प्रकाशित गरेर एकताको सन्देश दिन आग्रह गरिने ती सदस्यले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्तालाई पूर्वशर्त बनाएको संस्थापन पक्ष कार्यदलमार्फत सहमति खोज्न राजी भएपछि सोमवार कार्यदलको बैठक बसेको थियो ।
आइतवार ओलीले कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलसँग बालुवाटारमा लामो वार्ता गरेका थिए ।
पार्टी विवाद हल गर्न गत जेठ २ गते गठन भएको कार्यदलमा संस्थापन पक्षकोतर्फबाट नेम्वाङसहित उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।
कार्यदल सक्रिय भएसँगै एमाले विवाद सोमवारदेखि मत्थर भएको छ ।