
पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित एमाले कार्यदलका एक जना संयोजक भीम रावलले समस्या समाधानको दिशामा अगाडि बढ्ने सहमति भएको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार बसेको कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रावलले एमाले पुनर्जीवित भएपछि उठेका सबै विषयमा छलफल भएको बताएका हुन् ।
‘एमाले पुनर्जीवित भएपछि उत्पन्न सम्पूर्ण विषयमा कार्यदलका सबै सदस्यबाट विचारहरू व्यक्त भए । समस्या समाधानका लागि व्यक्त विभिन्न दृष्टिकोणलाई ध्यानमा राखेर भोलि कुराकानी गर्छौं,’ रावलले भने, ‘तुरुन्तै टुंगो नलागे पनि समस्या समाधानको दिशामा अगाडि बढ्ने सहमतिका साथ आजको बैठक सम्पन्न भएको छ ।’
लामो समय निष्क्रिय रहेको कार्यदलको बैठक सोमवार शुरू भएको थियो । मंगलवारको बैठकमा विषय केन्द्रित छलफल शुरू भएको नेताहरूले बताएका छन् ।
‘हिजो कार्यदल पुनर्जीवित भयो, यसबीचमा के कसो कुरा भए, त्यसको बारेमा जानकारी मात्रै लिएका थियौं । आज विषयमा प्रवेश गरेर छलफल गरेका छौं, विविध विचार आएका छन्, भोलि हामी यसमा छलफल गर्छौं,’ रावलले भने ।