
पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । सबै विषयमा लगभग सहमति भएको र भोलि टुंगिने उनले बताए ।
‘आज लगभग सहमति भएको छ, भाषिक लगायत बाँकी प्राविधिक कुरा भोलि टुंगिन्छ,’ बैठकपछि संयोजक नेम्वाङले भने, ‘दिउसो साढे १२ बजेदेखि राति साढे ८ बजेसम्म एउटै कोठामा बसेर निरन्तर छलफल गरेपछि परिणाम लगभग सहमति भयो ।’
एमाले प्रवक्ता समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलमा सहमति भएको र भाषिक कुरा मिलाएर भोलि अन्तिम रुप दिइने बताएका थिए ।
‘हामी सहमति गर्न लागि पर्ने कोही, सहमति भत्काउन लागिपरेकाले सहमतिका विषयवस्तु हस्ताक्षर भएपछि मात्र थाहा पाउनु हुन्छ,’ के के विषयमा सहमति भयो भन्ने लोकान्तरको प्रश्नमा नेम्वाङले भने, ‘हस्ताक्षर नहुँदासम्म के विषयमा सहमति भयो भनेर नभन्ने कसम खाएका छौं ।’
पार्टीमा देखिएको विवाद समाधानका लागि जेठ २ गते गठित कार्यदलले सोमवारदेखि लगातार छलफल गर्दै आएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्नुपर्ने संस्थापन पक्षको मागमा नेपाल पक्ष सहमत हुन नसकेको थिएन ।
एमाले कार्यदलमा नेपाल पक्षका सदस्य गोकर्ण विष्टले पनि आफूहरु सबै विषयमा सहमति नजिक पुगेको बताए । कार्यदलले सहमति गरेको विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गरेर सहमति सार्वजनिक गर्ने कार्यदलका नेताहरुले बताएका छन् ।