
बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । उनले दर्शक र समर्थकलाई झुक्याउने गरी इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा प्रेग्नेन्सीको प्रसंग राखिएको छ ।
उनले ‘सोनोग्राफी’को तस्वीरसँगै लेखिन्, ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’
भारतीय सञ्चारमाध्यमका अनुसार तस्वीर देखेपछि समर्थकहरूले करीनाको तेस्रो गर्भधारणबारे अनुमान लगाउन थाले । तर केही समयमै करीनाले अर्काे पोस्ट शेयर गरिन्, जसमा उनले भिडियोसहित लामो सन्देश लेखेकी छन् ।
करीनाले आफ्नो गर्भावस्था र त्यसबारे किताब लेख्नु एउटा यात्रा नै रहेको खुलाएकी छन् । करीनाले आफ्नो गर्भावस्थाको अनुभव समेटिएको पुस्तक सार्वजनिक गर्न थालेकी छन् ।
नयाँ आउन लागेको पुस्तकमा गर्भावस्थाको शारीरिक र मानसिक अनुभव समेटिएको उनले बताएकी छन् । करीनाले आफ्नो पुस्तकलाई ‘तेस्रो बच्चा’को संज्ञा दिएकी छन् । उनले लेखेकी छन्, ‘कैयौं अर्थमा यो पुस्तक मेरो तेस्रो बच्चाजस्तै हो । कन्सेप्ट आइडियादेखि लिएर पुस्तक प्रकाशनसम्मको यात्रालाई म गर्भावस्थाको नाम नै दिन्छु ।’