काठमाडौं २५ जेठ– नेपाली सत्ता राजनीतिको सदावहार खेलाडी विजयकुमार गच्छदार १४ औं पटक सरकारमा सहभागि भएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार नेपालमा सबभन्दा धेरै पटक मन्त्री बन्ने ‘भाग्यमानी’ नेता हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेर सबभन्दा धेरै पटक मन्त्री बन्ने रेकर्ड कायम गरेका हुन् । संविधान सभाका दुइवटै चुनावमा प्रत्यक्ष जितेका कयौं सांसदले एक पटक पनि मन्त्री बन्न नपाउँदा पनि गच्छदार भने ६ पटक मन्त्री खाने ‘भाग्यमानी’ बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा गच्छदार प्रचण्ड सरकारमा सहभागी भएका थिए । नयाँ सरकारमा सहभागिता सुनिश्चित गर्न गच्छदार केही दिनको लागि भए पनि प्रचण्ड सरकारमा गएका थिए ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश गरेका गच्छदार चारपटक उपप्रधानमन्त्री बनिसकेका छन् । २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र ०५५ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।
२०५६ सालमा बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र २०५८ सालमा बनेको देउवा नेतृत्वको सरकारमा गच्छदार जलस्रोत मन्त्री थिए ।
२०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकार र ०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री बनेका थिए । २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं गृह र रक्षामन्त्री थिए ।
२०६९ सालमा बाबुराम भट्टराई सरकार पुनर्गठन हुँदा गच्छदार उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
२०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । प्रचण्ड र देउवा सरकारमा उनी उपप्रधानसहित स्थानीय विकास मन्त्री बनेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालय उनको मुख्य रोजाइको मन्त्रालय हो । मन्त्री बनेको समयमा गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा एक आर्थिक बर्षमा १४ वटा पुल पारेका थिए ।
मधेश केन्द्रित दलका नेताहरु गच्छदारलाई सत्ताका लागि जे पनि गर्न सक्ने तथा सत्ताबिना बाच्न नसक्ने ‘पानी बिनाको माछो’को संज्ञा दिन्छन् ।
सत्ताका लागि मरिहत्ते गरेको भन्दै पहिलो संविधान सभाको कार्यकालमा संसदको बैठकमै मधेश केन्द्रित दलका एक सांसदले गच्छदारलाई ‘लोक सेवा पास गरेको मन्त्री’ को संज्ञा दिएका थिए ।
लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका गच्छदार २०६४ सालको चुनावको पूर्वसन्ध्यामा मधेशी जनाधिकार फोरममा प्रवेश गरेर चुनाव जितेका थिए ।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागिता जनाउन गच्छदारले फोरम विभाजन गरेर लोकतान्त्रिक फोरम गठन गरेका थिए ।
२०७० को चुनावमा नेकपा एमालेकी उम्मेदवारसँग सुनसरीबाट झिनो मतअन्तरले विजयी भएका गच्छदार केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए ।
सत्ताका माहिर खेलाडी गच्छदार दोस्रो संविधानसभा गठन भएपछि तीन पटक उपप्रधानमन्त्री बनिसकेका छन् ।