अर्जेन्टिना तथा लियोनेल मेस्सीलाई लामो समयपछि कोपा अमेरिका जिताउनका लागि गोलकीपर एमिलियानो मार्टिनेजको भूमिका सर्वोपरि छ ।
मार्टिनेजले नै मेसीको भाग्य चम्काएका हुन् । फाइनलमा पुगेर हार्ने पीडाबाट मेसी बल्ल मुक्त भएका छन् ।
मार्टिनेजका रूपमा अर्जेन्टिनाले अभेद्य किल्ला फेला पारेको छ । फाइनलमा नेयमार र ब्राजिलका अन्य कुनै पनि खेलाडीले यो किल्ला भत्काउनै सकेनन् ।
मार्टिनेजले प्रतियोगिताको गोल्डेन ग्लोभ उपाधि पनि हात पारे ।
अन्तर्राष्ट्रिय फूटबलमा डेब्यु गरेको ३८ दिनभित्रै मार्टिनेजले अर्जेन्टिनालाई जीत दिलाउन प्रमुख भूमिका खेले ।
मार्टिनेजले कोपा अमेरिकामा चारवटा पेनाल्टी बचाए । फाइनलमा उनी सुदृढ रहेकाले ब्राजिलले गोल फर्काउनै सकेन ।
सन् २०२१ को जुन ३ मा अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका मार्टिनेजले गोलपोस्टमा देखाएको कलाले संसारलाई उनको प्रशंसक बनाएको छ । विशेषगरी कोलम्बियाविरुद्धको पेनाल्टी शूटआउटमा उनले देखाएको कला निकै उम्दा थियो ।
अर्जेन्टिनाले पछिल्लोपटक उपाधि जित्दा मेसी जम्मा ६ वर्षका थिए ।
यो अर्जेन्टिनाको १५औं कोपा अमेरिका उपाधि हो । अर्जेन्टिना यसपालि प्रतियोगितामा एउटा खेल पनि नहारिकन उपाधि जित्न सफल भएको छ ।