उत्तरपश्चिम अमेरिका तथा क्यानडामा विगत १५ दिनमा भीषण गर्मी भएपछि प्रशान्त महासागर तथा नजिकै अन्य समुद्रमा एक अर्बभन्दा बढी समुद्री जीवजन्तु मारिएका छन् ।
वैज्ञानिकहरूका अनुसार, अत्यधिक तापक्रम ती जीवहरूले सहन सकेनन् ।
त्यस क्षेत्रमा अत्यधिक गर्मी भएकाले सडकमा चिरा परेको थियो । घरका भित्ता समेत पग्लेका थिए ।
क्यानडामा त एउटा बस्ती नै डढेर खरानी भएको थियो ।
घुँघी भन्ने जन्तुहरू त आफ्नै खोलमा पाकेर मरेका छन् । समुद्री किनार र पत्थरहरूमा मरेका तथा सुकेका सी स्टार नामक माछा बग्रेल्ती छन् । गर्मीका कारण नदीहरू भकभक उम्लिरहेका छन् र सालमन माछालाई तैरिन नै गाह्रो परिरहेको छ ।
हलिउड फिल्ममा प्रलय आएपछि देखिने दृश्य जस्तै भएको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका मरिन बायोलोजिस्ट क्रिस्टोफर हार्लेले बताए ।
केही सरकारी निकायहरूले समुद्री जीवलाई चिसो पानी भएको ठाउँमा लग्ने काम पनि गरे । आइडाहो फिश यान्ड गेम एजेन्सीले तातो नदीहरूबाट सालमन माछा समातेर चिसो ह्याचरीमा पुर्याएका छन् ।
क्यालिफोर्नियाको सेन्ट्रल भ्यालीमा चिनूक सालमन माछाहरू लाखौंको संख्यामा मारिए । कतिपयको त अण्डा नै बिग्रियो ।
देशभरिका वैज्ञानिक तथा अनुसन्धाताहरूले यी जीवहरूलाई गर्मीबाट जोगाउनका लागि उपाय खोजिरहेका छन् ।