
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् ।
विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ गते ७२ घण्टे अल्टिमेटम दिएको भए पनि मूल्यवृद्धि फिर्ता नगरिएको भन्दै आइतवार पत्रकार सम्मेलन गर्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।
नयाँ आन्दोलनको कार्यक्रममा असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने, असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
त्यस्तै संयुक्त विद्यार्थी संगठनहरूले एसईई तथा कक्षा ११ र १२ को परीक्षामा देखिएका समस्या समाधानमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ ।
त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने सबै परीक्षाहरू, एमफिल र पीएचडीको समस्या तथा नयाँ विषयका निजीकरण समस्याका बारेमा विद्यार्थी संगठनहरूको संयुक्त डेलिगेसनमा राखेका माग पूरा नभएमा उपकुलपति र विश्वविद्यालयका विरुद्धमा थप संघर्ष गर्ने बताइएको छ ।
हिमालयन इन्स्योरेन्सलाई लाइसेन्स दिँदा एक अर्ब भन्दा बढीको अवैध चलखेल भएकाले छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन पनि विद्यार्थी संगठनले माग गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
त्यस्तै नेपाल वायु सेवा निगमलाई निजीकरण गरेर समाप्त पार्ने खेलमा लागिएको भन्दै मन्त्रालयका कर्मचारी र महाप्रबन्धकलाई बर्खास्त गर्नुपर्ने मागसहित कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले भ्रष्टाचार गरेको भन्दै उपकुलपति ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको पनि अखिल(क्रान्तिकारी)का अध्यक्ष तामाङले बताए ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ अध्यक्ष राजीव ढुंगानाले विद्यार्थी संगठनहरूको ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेको र छलफलको प्रयत्न समेत नगरेका कारण आन्दोलनको थप कार्यक्रम घोषणा गर्नुपरेको बताए ।
उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र आगामी दिनमा मूल्यवृद्धि नहुने कुराको प्रत्याभूति गराउन पनि माग गरे ।
अनेरास्ववियू (नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीहरूले शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम गर्दा पनि प्रहरीको बर्बर दमन भएको उल्लेख गरे । उनले विद्यार्थीहरूले जायज माग राख्दा पनि राज्यले वक्रदृष्टि राखेको बताए ।
आयल निगमलाई निर्णायक ढंगले सडक आन्दोलनबाट जवाफ दिने पनि उनको भनाइ छ ।