काठमाडौं, १४ पुस - सुरक्षा निकायले १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादीले ‘लुटेर लगेका’ ४ सय थान हतियार फेला पारेको आजको कारोबारमा खबर छ। माओवादी शान्ति प्रक्रियामा आएपछिको १० वर्षको अवधिमा उक्त परिमाणमा हतियार बरामद गरिएका हुन् ।
पछिल्लो आठ वर्षको अवधिमा तीनवटै सुरक्षा निकायले सक्रियता बढाएसँगै ती हतियार भेटिन थालेको जनाइएको छ । सशस्त्र द्वन्द्वका बेला माओवादी लडाकुले ब्यारेक, चौकी, गस्ती टोलीमाथि आक्रमण गरी हतियार खोसेर लगेका थिए । त्यसरी खोसिएका ३ हजारभन्दा बढी हतियार अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । अन्य हतियार खोला किनार, ओढार, बारी, घर तथा गोठबाट बरामद गरिएको हो ।
गृह मन्त्रालयका अनुसार माओवादीले सैनिक ब्यारेक, प्रहरी कार्यालय÷चौकी तथा बैंक सुरक्षार्थ टोलीमाथि आक्रमण गरी ३ हजार ४ सय ६७ थान अत्याधुनिक हतियार लगेका थिए । प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभाग प्रमुख एआईजी केदारप्रकाश साउदले त्यस बेला लुटिएका हतियार खोजी कार्य अगाडि बढाइएको जानकारी दिए ।