०२ साउन २०८३, शनिबार
एमालेमा सहमति

सूर्य थापाको फेसबूक स्टेटसप्रति माधव नेपालको आपत्ति, योगेश भट्टराई भन्छन् : सहमति स्वागतयोग्य

सूर्य थापाको फेसबूक स्टेटसप्रति माधव नेपालको आपत्ति, योगेश भट्टराई भन्छन् : सहमति स्वागतयोग्य

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबूक स्टाटसमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।

नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत १० बुँदे सहमतिलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकारबाटै गलत ब्याख्या भएको भन्दै आपत्ति जनाएका हुन् ।

'हिजो राती नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ नेपालले भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले १० बुँदे सहमति भएसँगै एमालेका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकाे साथ छाडेको बताएका थिए ।

एमाले वरिष्ठ नेता नेपालले थापाको यसै भनाइमा आपत्ति जनाएका हुन् ।

यता, पार्टी एकताका लागि प्रस्तावित १० बुँदामा भएको सहमतिलाई एमालेका विभिन्न तहका नेताहरूले स्वागतयोग्य भएको बताएका छन् । 

एमालेका सचिव योगेश कुमार भट्टराईले आइतवार राति भएको सहमति स्वागतयोग्य भएको बताएका छन् । 

उनले यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्नु युगिन कार्यभार बनेको समेत बताएका छन् । 

उनले भनेका छन्,'नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।'


 

salt training

कमेन्ट गर्नुहोस्