३१ जेठ २०८३, आइतबार

बैतडीका ३ पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

असार २९, २०७८
बैतडीका ३ पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम
प्रतिकात्मक तस्वीर

१० स्थानीय तह रहेको बैतडीका ३ स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन् ।

जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन् । 

स्थानीय पाठ्यक्रम तयार गरेर स्वीकृत भइसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए । आधारभूत तह १ देखि ३ कक्षासम्मको पाठ्यक्रम निर्माण भएर नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ ।

स्थानीय संस्कृति, जनजीवन, भूगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागू हुने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ । 

मेलौली नगरपालिकाले  स्थानीय पाठ्यक्रम तयार पारेर चालू शैक्षिक सत्रदेखि लागू गरेको छ । १ देखि ३ कक्षासम्मको आधारभूत तहमा चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको हो । कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसँगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए ।

पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागू गरिएको हो । १६० घण्टा शिक्षण गर्ने विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएका छ ।

उनले भने, ‘७ वटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार गरेका हौं । स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र संस्कृति समेटिएको छ ।’

पाठ्यक्रममा समेटिएका विषयवस्तुबारे शिक्षकलाई समेत जानकारी गराइएको छ । पाठ्यक्रममा भएका विषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस् भनेर पाठ्यक्रमका विषयमा जानकारी दिइएको हो । जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ ।

शिवनाथ आधारभूत तह १ देखि ३ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पार्ने जिल्लाको पहिलो स्थानीय तह समेत हो । 

शिवनाथ गाउँपालिकाले आधारभूत तह १ देखि ३ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो । गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रबाटै चालू शैक्षिक सत्रबाट पढाइ हुने  शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए । 

स्थानीय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, भाषा, वेषभूषा लगायतका कुरा समेटिएका छन् । स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय क्षेत्रबारे समेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताइएको छ ।

स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुले विद्यार्थीमा स्थानीय परिवेशका विषयमा शिक्षा दिने अपेक्षा गरिएको छ । जिल्लाका अन्य ७ स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्