२५ जेठ २०८३, सोमबार

पार्टीका नेता कार्यकर्तालाई धैर्य रहन ओलीको आग्रह

पार्टीका नेता कार्यकर्तालाई धैर्य रहन ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई धैर्यता राख्न र आत्मविश्वास कम हुन नदिन आग्रह गरेका छन् ।

मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने, ‘अदालतको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । जे भए पनि अदालतको फैसलालाई मानेर, कार्यान्वयन गरेर अगाडि बढ्छौं ।’

प्रतिपक्षमा रहेर भएपनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा हाम्रो काँधमा रहेको ओलीले बताए । ‘सबै पार्टीका कार्यकर्ता, युवा पिँढीलाई भन्न चाहन्छु – हाम्रा सन्ततिले कठोर संघर्ष गर्न नपरोस्,’ ओलीले भने ।

ओलीले अब समयमै निर्वाचन हुनेमा शंका रहेको बताए । उनले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामना दिएका छन् ।

‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’

देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बताए । ‘जे जस्ता घटना हुँदैछन् – संसद रहला, अब बन्ने सरकार सही–सलामत अगाडि बढ्ला शंकै छ । यसमा परिचित पात्रहरू छन्, ती पात्रका इतिहास र भूमिका देश र जनतालाई थाहा छ, मैले भनिराख्नु पर्दैन,’ उनले भने, ‘आजको आवश्यकता एकतावद्ध भएर जानुपर्ने थियो । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधिनतालाई सबल बनाउँदै जानुपर्ने आवश्यक थियो । तर त्यस्तो हुन सकेन ।’

ओलीले सरकारबाट बाहिरिएर जाँदाजाँदै सरकारले कोरोना भाइरस विरुद्धको खोप पर्याप्त जुटाएको विवरण सुनाएका छन् । ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए । उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए ।

ओलीले भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप प्राप्त भएको बताए ।

‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हुन् कि खोप जस्तो प्रचार गर्दैछन्, मलाई प्रचारको कम्पटिसन गर्नु छैन ।’

ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताए ।

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’

सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको छु,’ उनले भने ।

उनले एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताए । ओलीले सर्वाेच्चको अपब्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गरेको बताए ।

सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । 

‘यस राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्नेछ । अत्याधिक न्यायिक सक्रियता देखियो,’ उनले भने ।

ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताए । उनले सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने बताए ।

‘लोकतन्त्रको रक्षामा यी फैसला सहयोगी रहे कि असहयोगी ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? यसको समीक्षा भविष्यले गर्ने नै छ,’ उनले भने ।

फैसलाको पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेपनि फैसलाको भाषाले चिन्तित तुल्याएको उनले बताए । निर्वाचन लोकतन्त्रको प्राणवायु भएपनि जनतामा जाने कार्यलाई निरंकुश भन्ने प्रचारबाजी भएको गुनासो उनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्