प्रशान्त महासागरमा वर्षौंपछि पहिलोपटक पारदर्शी अक्टोपस देखिएको छ ।
यसको शरीरमा आँखामा, आँखा नसा र खाद्यनली सजिलै देखिन्छ । बाँकी अंग नीलो रंगको शीशा जस्तै पारदर्शी देखिन्छ ।
सागरमुनि गोता लगाएको एक रोबोटले अक्टोपसको तस्वीर खिचेको हो ।
समुद्री जीववैज्ञानिकहरूको एक समूह विगत ३४ दिनदेखि अस्ट्रेलियाको सिड्नीभन्दा ५१ सय किलोटिमर उत्तरपूर्वमा रहेको फिनिक्स आइल्यान्ड नजिक अनुसन्धान गरिरहेको छ ।
त्यहाँ उनीहरूले समुद्री जीवन बुझ्नका लागि रोबोटलाई मुनि पठाए । रोबोटको क्यामरामा अक्टोपस पौडिरहेको देखियो ।
शीशा जस्तो पारदर्शी अक्टोपस दुईपटक देखियो । दोस्रोपटक यसको रंग अलि फरक थियो । यस्तो अक्टोपसलाई सीफालोपोड्स भनिन्छ ।
यस जीवले आफ्नो पारदर्शिताको उपयोग शिकारीहरूलाई झुक्याउनका लागि गर्ने गरेको छ ।
इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार, ग्लास अक्टोपसको खोज सन् १९१८ मा भएको थियो । यस जीवको एकदमै कम जानकारी वैज्ञानिकहरूसँग छ ।
यो प्रायः जसो मेसोपेलाजिक जोनमा बस्छ । त्यो भनेको सागरको ६५६ देखि ३२ सय ८० फीटको गहिराइ हो ।
तर अन्य ग्लास अक्टोपसहरू ३२ सय ८० देखि ९८ सय फीटको गहिराइमा बस्छन् । यिनलाई बाथीपेलाजिक वा मिडनाइट जोन भनिन्छ । अहिले पत्ता लागेको अक्टोपस मिडनाइट जोनमा पौडिरहेको थियो ।