भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले मंगलवार कांग्रेस सांसद राहुल गान्धीसँग भेटघाट गरेका छन् ।
प्रशान्त भारतका विपक्षी दलहरूलाई एकजुट बनाउने कोशिशमा छन् । यसका पछाडि उनको ठूलो गेमप्लान छ ।
सन् २००२ मा कैयौं राज्यमा विधानसभा निर्वाचन हुँदैछ भने राष्ट्रपति निर्वाचन र सन् २०२४ को लोकसभा निर्वाचनका विषयमा पनि हलचलहरू भइरहेका छन् ।
प्रशान्तले राहुललाई यही सिलसिलामा भेटेका हुन् ।
राष्ट्रवादी कांग्रेस (एनसीपी) का प्रमुख शरद पवारलाई आगामी राष्ट्रपति उम्मेदवारका रूपमा प्रस्तुत गर्न खोजिँदैछ ।
प्रशान्तको हिसाबमा विपक्षीहरू एकजुट भएमा इलेक्टोरल कलेजको मामिलामा सरकारसामु विपक्षीहरू बलियो हुने आकलन छ । विपक्षी दलहरूसँग बीजेडीका नवीन पटनायक आए भने झनै सहज हुनेछ ।
महाराष्ट्र र तमिलनाडु जस्ता ठूला राज्यमा अहिले विपक्षी दलहरूको सरकार छ । त्यसैले त्यहाँबाट धेरै नम्बर पाउने आशा विपक्षीहरूको छ । उडिसा मात्र ग्रे एरियामा छ ।
मंगलवार प्रशान्तले राहुल र प्रियंका गान्धीसँग गरेको बैठकले विपक्षीहरूमाझ जमेको बरफ पगाल्ने बताइएको छ । विपक्षी एकजुट भएमा भाजपाको गेमप्लान चौपट पार्न सकिने दाउ प्रशान्तको छ ।
प्रशान्तको सम्बन्ध ममता बनर्जी, जगन रेड्डी, अरविन्द केजरीवाल, एमके स्टालिन, उद्धव ठाकरे अन्य दिग्गज नेताहरूसँग छ । उनीहरूलाई एक ठाउँमा ल्याउन गाह्रो छैन तर कांग्रेस पनि सँगै हुनु जरूरी छ ।