
सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको आठौं अधिवेशन आइतवारदेखि प्रारम्भ हुँदैछ ।
संसद भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने तयारी गरेका छन् ।
आज शुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्नेछ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ ।
संसद सचिवालयका एक अधिकारीका अनुसार प्रतिनिधि सभा बैठक अघि कार्य व्यबस्था परामर्श समितिको बस्दैछ ।
सचिवालयले आजका लागि अधिवेशन आह्वान र मन्त्रिपरिषद् विस्तार सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तयार गरेको छ ।
पुनःस्थापित प्रतिनिधि सभामा केही फरक दृष्य देखिने छ । सर्वोच्चको आदेशले सत्ता बाहिर पुगेको नेकपा एमाले आजदेखि प्रतिपक्षी कुर्सीमा बस्ने भएको छ । २०७४ सालपछि पहिलो पटक कांग्रेस सत्तापक्षको कुर्सीमा सर्दैछ ।
प्रतिनिधि सभाको दायाँमा सत्तापक्ष र बायाँपट्टी प्रतिपक्षका लागि सिट निर्धारण गरिएको हुन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका सांसदहरु भने प्रतिपक्षी बेन्चमै बस्नुपर्नेछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै ७ दिन भित्र संसदको अधिवेशन बोलाउन आदेश गरेको थियो ।
यसैबीच, सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आइतवार बस्दैछ ।
प्रतिनिधि सभा अधिवेशनमा खेल्ने भूमिकाको विषयमा छलफल गर्न दुवै दलले संसदीय दलको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने शुक्रवार नै संसदीय दलको बैठक बसेर यो अधिवेशनमा रचनात्मक भूमिका खेल्ने निर्णय गरिसकेको छ ।