जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरूआत गरेको छ ।
कार्यालयले डोटीका ९ वटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।
कार्यालयले डोटीका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा साउन ३ गतेदेखि अद्यावधिकको काम शुरू भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिए ।
जिल्लाका कूल मतदाता संख्या १ लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले बताए ।
विक्रम संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष मतदाता रहेका थिए । अहिले मतदाता संख्या १ लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ ।
थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिवर्तन, पति, पत्नीको नाम परिर्वतन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ ।
सो निर्वाचनमा जिल्लामा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ र समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो ।