
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा सोमवार छापिएको एक आलेखमा नेपालमा जो प्रधानमन्त्री बने पनि देशको समृद्धिका लागि चीनसँगको सहकार्य आवश्यक रहेको लेखिएको छ ।
शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएर प्रधानमन्त्री पद सुरक्षित गरेपछिको सन्दर्भलाई विश्लेषण गर्दै चाङ च्यादोङले आलेख तयार पारेका हुन् ।
देउवा सभापति भएको नेपाली कांग्र्रेस पार्टीले भारतपरस्त परराष्ट्रनीति अपनाउने सम्भावना रहेको पर्यवेक्षकहरू बताउँछन् भनी आलेखमा उल्लेख गरिएको छ ।
नेपाल र भारतको निकट भौगोलिक तथा सांस्कृतिक सम्बन्ध रहेको अनि भौगोलिक रूपमा नेपाल हिमालय शृंखलाको दक्षिणी भागमा रहेको र समुद्रमा पहुँच नरहेको भनी च्यादोङ लेख्छन् ।
उनी लेख्छन्, नेपालले विश्वको आर्थिक तथा व्यापारिक गतिविधिमा भाग लिन चाहँदा भारतको भूमिलाई पार गर्नुपर्ने बाध्यता छ । त्यसमाथि नेपालको मुख्य र सबभन्दा ठूलो धर्म हिन्दू धर्म हो । त्यसैले नेपालमा जुन दलको सरकार आए पनि भारतको प्रभावलाई नजरअन्दाज गर्न मिल्दैन ।
देउवा कतिन्जेल प्रधानमन्त्री बन्न पाउने स्पष्ट छैन भनी च्यादोङ लेख्छन् । उनलाई संसद्ले निर्वाचित गरेको नभई सर्वोच्च अदालतले नियुक्त गरेको अर्थात् उनीसँग कांग्रेस पार्टीमै र जनतामाझ पनि सीमित सहयोग रहेको च्यादोङको दाबी छ ।
कम्युनिस्ट पार्टी अफ नेपाल (शायद च्यादोङले नेकपा एमाले भन्न खोजेको हुनुपर्छ) अहिले पनि संसदमा सबभन्दा ठूलो दल हो । देउवाले संसद्को बहुमत कायम राख्न सकेनन् भो अर्को वर्ष हुने आमनिर्वाचनमा उनका लागि अनुकूल वातावरण रहने छैन । देशमा कोरोनाभाइरस संक्रमणको दर पुनः बढेमा अर्थतन्त्र खस्किन्छ र त्यसको दोष सत्तारूढ दलले लिनुपर्ने हुन्छ ।
त्यसमाथि नेपालको परराष्ट्रनीतिले आकार लिइसकेको च्यादोङ लेख्छन् । जो सत्तामा आए पनि चीनको सहकार्यविना देश समृद्धिको बाटोमा जाँदैन भनी उनी दाबी गर्छन् ।
देउवाको सत्तारोहणले नेपाललाई केही मात्रामा भारततर्फ ढल्काउला तर उनले चीन, भारत तथा तेस्रो मुलुकसँगको बहुपक्षीय सन्तुलित कूटनीतिको आधारभूत विचारलाई परिवर्तन गर्न सक्दैनन् भनी च्यादोङ लेख्छन् ।