
भारतको उत्तराखण्ड राज्यको बाराहोती क्षेत्र नजिक चिनियाँ सेनाले गतिविधि बढाएको छ ।
वास्तविक नियन्त्रण रेखामा चिनियाँ जनमुक्ति सेनाको एक प्लाटूनले कारवाही गरेको देखिएको छ ।
‘हालै पीएलएका लगभग ३५ जना सैनिकको प्लाटूनले बाराहोती क्षेत्र नजिक सर्वे गरेर गएको पाइएको छ । निकै लामो समयको अन्तरपछि चिनियाँहरूले त्यहाँ गतिविधि गरेका हुन्,’ एक स्रोतले भारतीय समाचार संस्था एएनआईलाई बतायो ।
चिनियाँ सैनिकहरूलाई उक्त क्षेत्रमा निरन्तर निगरानी गरिएको उक्त स्रोतले जानकारी दियो ।
भारतीय पक्षले पनि उक्त क्षेत्रमा पर्याप्त व्यवस्था गरेको छ ।
बाराहोती क्षेत्र नजिकको एक एयरबेसमा चिनियाँ गतिविधि बढेको छ र उनीहरूले ठूलो संख्यामा ड्रोन तैनाथ गरेका छन् ।
भारतले पनि सेन्ट्रल सेक्टरमा थप सैनिक तैनाथ गरेको छ र रियर फर्मेसनहरू पनि त्यहाँ पुगेका छन्, स्रोतहरूले बताए ।
भारतीय वायुसेनाले पनि त्यहाँ केही एयरबेसहरू सक्रिय बनाएको छ । त्यहाँ एएन–३२ विमानहरूले अवतरण गर्ने गरेका छन् ।