३१ जेठ २०८३, आइतबार

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरू

साउन ७, २०७८
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरू
फाइल फोटो

चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरू गरेको छ ।

विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरू गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरू गरेसँगै कलेजले एउटा शल्यक्रिया समेत गरेको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । विभागको नेतृत्व प्रा.डा. अनिल आचार्यले गरेका छन् ।

१० वर्ष काठमाडौंको गंगालाल हृदयरोग केन्द्र र ३ वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा कलेजमा सेवा शुरू गरिएको हो ।
 
आचार्यसँगै कार्डियक सर्जन डा. अल्का सिंह सहितको टोली रहेको छ । टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो ।

आचार्यले भने, ‘मुटुको ४ कोठामध्ये माथिको २ कोठाको बीचमा प्वाल परेको थियो ।’ जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उनको भनाइ छ ।

उनले भने, ‘हामी यहाँ गंगालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।’
 
यो सेवा राजधानी केन्द्रित भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताए । उनले भने, ‘सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।’

मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उनले सरकारले दिने १ लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिए ।
 
सरकारले काठमाडौंको गंगालाल र मनमोहन अस्पतालमा १४ वर्षमुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भने, ‘यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।’

मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उनले भने, ‘म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ ।’ काठमाडौंका स्थायी वासिन्दा डा. आचार्यले आफ्नी पत्नीको जागिर छुटाएर त्यहाँको भन्दा कम सुविधा लिएर यहाँ आएको बताए ।

उनले भने, ‘मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ ।’ राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर नजिकै उपचार पाउँछन् ।’
 
प्रा.डा. आचार्यको समूहले गंगालालमा ३ हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ । यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रूपमा उनले ३ वर्ष काम गरेका छन । उनले बंगलादेशबाट एमबीबीएस र एमडीपछि सिंगापुरबाट फेलोसिप गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्