
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले जे भनेपनि मान्नै पर्छ भनेमा अदालतप्रतिको विश्वास र मर्यादा नबढ्ने दाबी गरेका छन् ।
अदालतको गरिमा बढोस् भन्ने आफ्नो इच्छा रहेको ओलीले बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा ओलीले न्याय नपाए सर्वोच्च अदालत जाने वातावरण बन्नुपर्ने बताएका हुन् ।
‘मेरो चिन्ता के भने सम्मानित सर्वोच्च अदालतको मर्यादा जनजनको मनमा बढोस्, जनजनको विश्वास अदालतमा होस्, तब लोकतन्त्र बलियो हुन्छ,’ ओलीले भने, ‘तर, विश्वास गर्नैपर्छ, जे भनेपनि मान्नै पर्छ भन्यौं हामीले भने विश्वास रहन्छ कि रहँदैन चिन्ता त्यो हो ।’
अध्यक्ष ओलीले दुनियाँ लागेर खुट्टा हल्लाउन र डगमगाउन नसकेपछि तिकडम गरेर सरकार ढालिएको गुनासो गरे ।
सरकारबाट बाहिरिए पनि संघ, प्रदेशदेखि स्थानीय तहसम्म एमाले नै प्रमुख शक्ति भएको नबिर्सिन ओलीले आग्रह गरे ।