वैदिक संस्कृतिमा महर्षि व्यासको स्थान सर्वोपरि छ । भगवानको कलाअवतार समेत मानिएका महर्षिजीले वेद, पुराण सर्वत्र एक किसिमले साम्राज्य नै कायम गरेका छन् । त्यसैले हुनुपर्छ कुनै समीक्षकले भनेका छन् – ‘व्यासोच्छिष्टं जगत् सर्वम्’ अर्थात् आजका विश्वका सारा ज्ञान र विज्ञान व्यासको उच्छिष्ट भाग (जुठो) हो ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार समाजमा धर्मशास्त्रीय मर्यादा कायम गराउन प्रत्येक द्वापर युगमा भगवानले व्यासावतार लिने गर्छन् । यसअनुसार हालका व्यासजीका स्थान २८ औंमा पर्छ । उनको नाम कृष्णद्वैपायन हो । यसअघि हालका मन्वन्तरमा २७ वटा द्वापर युग व्यतित भइसकेका छन् ।
त्यसैले व्यास पनि २७ वटै भइसकेका छन्, जसका नाम ब्रह्मा, प्रजापति, शुक, वृहस्पति, सविता, मृत्यु, मघवा, वशिष्ठ, सारस्वत, त्रिधामा, त्रिवृष, भरद्वाज, अन्तरिक्ष, धर्म, त्रैय्यारुणि, धनञ्जय, मेधातिथि, व्रति, अत्रि, गौतम, हर्यात्मा, वाजश्रवा, पुष्पायण, तृणाविन्दु, भार्गव, शक्ति, जातुकर्ण्य आदि रहेका छन् ।
कृष्णद्वैपायन व्यासजी महर्षि पराशरको छोरा र परमहंसशिरोमणि शुकदेवका बुवा हुन् । उनको आमाको नाम धीवरकन्या मत्स्यगन्धा हो, जो पछि गएर सत्यवतीको नामले इतिहासप्रसिद्ध भएकी छन् । उनी महाभारतको विशेष सूत्राधारको रूपमा पनि चिनिन्छन् ।
उनले महर्षि व्यासलाई विवाहपूर्व नै जन्म दिएकी थिइन् । त्यसैले उनलाई कानीन पनि भनिन्छ । यसको अर्थ कन्यापुत्र हो । द्वैपायन नाम चाहिँ द्वीपमा जन्म भएको अर्थमा रहेको हो । उनको जन्म दुई नदीको बीचमा (टापुमा) भएको थियो । संस्कृतभाषामा दुई नदीको बीचभागलाई द्वीप भनिन्छ ।
त्यसैले द्वैपायन हुन पुगेका हुन् । अगाडि कृष्ण विशेषण जोडिनुको अर्थ चाहिँ उनको वर्ण कालो हुनु हो । संस्कृतभाषामा कालो वर्ण भएकालाई कृष्ण भनिन्छ । देवकीनन्दन वासुदेवको नाम कृष्ण रहेको पनि यसै अर्थमा नै हो । उनलाई वेदव्यास पनि भनिन्छ । वेदविभागकर्ताको अर्थमा त्यसो भनिएको हो ।
महर्षि व्यासजी आफैं वैदिक मन्त्रद्रष्टा ऋषिमा त पर्दैनन् तर वेद विभाग गर्ने काम भने उनले गरेका छन् । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पहिले वेद एउटै थियो । कलियुगीन चेतलाई मनन गर्दै उनैले नै चार भागमा विभाजन गरेका हुन् । कतै कतै उनको जन्म नै यसैका लागि भएको भन्ने उल्लेख पनि भेटिन्छ ।
त्यसो त उनीअघि नै वेदको विभाग भइसकेको थियो भन्नेहरू पनि नभेटिने होइनन् । तर आधिकारिक मान्यता यही हो कि वेद विभागकर्ता उनै हुन् । श्रीमद्भागवतादि पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार सत्ययुगदेखि एउटै स्वरूपमा पढिँदै आएको वेदलाई द्वापर युगमा उनले नै चार भागमा विभाजन गरेका मात्र थिएनन् पैल, वैशम्पायन, जैमिनि र सुमन्तु आदि चारजना आफ्ना शिष्यलाई पढाएका पनि थिए । उनीहरूले पढेका शाखालाई क्रमशः ऋक्, यजु, साम र अथर्व भनिन्छ ।
बिस्तारै उनीहरूको पनि शिष्य, प्रशिष्यद्वारा वेदका शाखा विभाजन भनौं या विस्तार हुुँदै गएकाले हाल वेदको कुल शाखा एक हजार १३१ हुन पुगेको विद्वानहरूको कथन छ । उनीहरूका अनुसार यिनमा ऋग्वेदको २१, यजुर्वेदको १०१, सामवेदको एक हजार र अथर्ववेदको नौवटा शाखा रहेका छन् ।
लोकहित नै जीवनको एकमात्र लक्ष्य बनाउँदै आएका महर्षि व्यास पौराणिक ग्रन्थहरूका रचनाकार पनि मानिएका छन्, जसमा खासगरी ब्रह्म, पद्म, विष्णु, वायु वा शिव, भागवत, नारद, मार्कण्डेय, आग्नेय, भविष्य, ब्रह्मवैवर्त, लिङ्ग, वराह, स्कन्द, वामन, कूर्म, मत्स्य, गरुड र ब्रह्माण्ड गरी १८ वटा विशेष अर्थात् महापुराण मानिएका छन् ।
त्यस्तै सनत्कुमार, नरसिंह, नारदीय, कपिल, गणेश, कालिका, वरुण, साम्ब, नन्दीश्वर, सूर्य, पराशर, आदित्य, माहेश्वर, देवीभागवत आदि १८ वटा उपपुराण पनि उनकै रचना मानिएको छ । यिनीहरू जुन मात्रामा वेदार्थ बोधक मानिएका छन्, त्यति नै मात्रामा जीवनको तत्त्वबोधक समेत हुन पुगेका देखिन्छन् ।

सेवा नै परम धर्म हो भन्दै आएका महर्षि व्यास पौराणिक ग्रन्थहरूमा कतै स्वर्गको विशेषता वर्णन गर्न पुगिरहेका देखिन्छन् भने कतै नरकका छिद्रहरू खोतल्न पुगिरहेका भेटिन्छन् । तथापि उनको मूलभूत उद्देश्य भने समग्र मानव समाजलाई सन्मार्गमा डो–याएर समग्र मानव समाजकै हित र समुन्नति गर्नु नै हो ।
प्रत्येक प्राणी देवांश हुन् भन्ने मान्यता राख्ने यी महर्षिले समग्र चराचर प्राणीलाई जीवन्त बनाई कतै चलाएका छन्, कतै बोलाएका छन् । त्यस्तै कतै खेलाएका छन्, कतै रुवाएका छन् अनि कतै हँसाएका पनि छन् । रुखविरुवा वा वनस्पतिमा पनि मानिसको जस्तै संवेदनशीलता हुन्छ भन्ने कुरा आधुनिक वैज्ञानिकहरू भर्खरै गर्दैछन् तर महर्षि व्यासजीले हजारौं वर्षपूर्व नै आफ्ना अमर कृतिहरूमा यसको समुचित उल्लेख गरिसकेका छन् ।
यसबाहेक महाभारत जस्तो लक्षश्लोकात्मक विशाल ग्रन्थ पनि महर्षि व्यासकै रचना हुन् । वास्तवमै उनको यो कृति विश्वसाहित्यकै एउटा त्यस्तो अनमोल रत्न हो जहाँ जसले जस्तो आँखाले हे–यो वा जे खोज्यो त्यही पाउन सक्छन् । ज्ञान यसैमा छ । विज्ञान यसैमा छ । ब्रह्म यसैमा छ । ब्रह्माण्ड यसैमा छ । जीव यसैमा छ । जगत् यसैमा छ ।
राजनीति यसैमा छ । कूटनीति यसैमा छ । भेदनीति यसैमा छ । अभेदनीति यसैमा छ । संस्कार यसैमा छ । संस्कृति यसैमा छ । धर्म यसैमा छ । अधर्म पनि यसैमा छ । अमृत यसैमा छ । विष पनि यसैमा छ । अर्थनीति यसैमा छ ।
कृषि, वाणिज्य, गोरक्षनीति यसैमा छ । विजय यसैमा छ । पराजय यसैमा छ । शान्ति, सदाचार र अनुशासन यसैमा छ । अशान्ति, अत्याचार र भ्रष्टाचार पनि यसैमा छ । कर्म, अकर्म, विकर्म आदि आदि के के हो के के सबै यसैमा छन् । समग्रमा भन्नुपर्दा यो यस्तो सार्वभैम ग्रन्थ हो जसमा धर्म, अर्थ, काम र मोक्ष आदि चार किसिमको पुरुषार्थमध्ये जसको जुन अभीष्ट हो त्यही पाउन सक्छन् ।
त्यसैले हुनुपर्छ विद्वानहरूले महाभारतको समीक्षा गर्दै भन्ने गरेका छन्– ‘यदिहास्ति नतदन्यत् यन्नेहास्ति न तत् क्वचित् ।’ अर्थात् जुन चीज यहाँ छ त्यो चीज अन्यत्र कतै पनि छैन र जुन चीज यहाँ छैन त्यो चीज पनि अन्यत्र कतै छैन ।’
गीता जस्तो प्रस्थानत्रयीमध्ये एक मानिएको बेजोड आध्यात्मिक ग्रन्थका समेत रचनाकार रहेका महर्षि व्यासको धर्मशास्त्रसम्बन्धी समेत केही ग्रन्थ रहेका छन् । तिनमा विशेषगरी व्यासस्मृति र लघुव्याससंहितालाई लिन सकिन्छ । चार अध्यायमा विभाजित व्यासस्मृतिमा २५० श्लोक छन् । विशेषगरी संस्कार तथा तिनका आवश्यकताबारे व्याख्यान गर्ने प्रयास भएको यस ग्रन्थमा धर्माचरण तथा गृहस्थाश्रममा पनि ध्यान दिइएको पाइन्छ ।
त्यसैगरी दुई अध्यायमा विभाजित लघुव्याससंहितामा १२५ श्लोक छन् । यसको पनि आशय करीब करीब उस्तै रहेको छ । तिनमा पनि विशेषगरी भन्नुपर्दा शौच, स्नान आदि नित्यकर्म तथा पञ्चमहायज्ञादि कार्यमा विशेष प्रकाश पार्ने काम भएको पाइन्छ ।
अष्टचिरञ्जीवीमध्येमा एक मानिने व्यासजीका भौतिक शरीर त देखेका छैनौं तर उनको आध्यात्मिक स्वरूपको भने हामी अहिले पनि जन्मोत्सव आदि पर्वमा पूजोपासना गर्दै आएका छौं ।