
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १ वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् ।
गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त संख्यामा ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला ४ र ज्यान गुमाउने बालकको संख्या २ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्यांकमा उल्लेख छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन् । गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक ८ र बालिका ७ रहेका छन् । यसैगरी सामान्य घाइते हुनेको संख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिए । त्यसपछि जीप/कार २६, ट्रक/ट्यांकर २३, ट्रयाक्टर १५, बस १३, टेम्पो १०, साना सवारी ८, टिप्पर ५, माइक्रो ३ र अन्य १ गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताए ।
सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन् । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवा पुस्ताले तीव्रगतिमा सवारी चलाउने, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्ने तथा जस्तो ठाउँमा पनि ओभरटेक गर्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको पाइएको उनले बताए ।
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा सडक जीर्ण भएकाले समेत कतिपय दुर्घटना हुने गरेका छन् । ४ लेनमा सडक विस्तारको क्रममा रहेको छ । यस क्रममा धेरैजसो ठाउँमा लामो समयसम्म सडक मर्मत नगर्दा ठूला–ठूला खाडल परेका छन् । यसले समेत दुर्घटना बढाएको छ ।
गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले १ करोड ११ लाख ५४ हजार ५०० राजस्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरी १८ हजार १४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बडूले बताए ।