काठमाडौं, १४ पुस — एक क्रुद्ध भीडले अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्री चढेको गाडीमा बिहीवार ढुंगा प्रहार गरेका छन् । प्रहारबाट गाडीको शीशा फुटेको छ तर कसैलाई चोटपटक लागेको छैन ।

‘दशजना जतिको समूहका मान्छेले राष्ट्रपति चढेको गाडीमा ढुंगा प्रहार गरेर दुईवटा शीशा फुटाइदिएका छन्,’ राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै बतायो ।
भिल्ला त्राफुल भन्ने ठाउँमा यो घटना भएको थियो । यो तालनजिकैको सानो गाउँ हो । गाउँमा विगत ८० वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्री पुगेका थिएनन् ।
सरकारको नीतिसँग क्रुद्ध स्टेट वर्कर्स एसोसिएसनको स्थानीय शाखाका सदस्यले ढुंगा प्रहार गरेको बताइएको छ ।
राष्ट्रपति माक्रीलाई यसअघि पनि मार देल प्लाता भन्ने ठाउँमा ढुंगा प्रहार गरिएको थियो । त्यतिखेर विरोधीहरूले उनलाई गिल्ला पनि गरेका थिए ।
सिन्ह्वा