नेकपा एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएको छ । कांग्रेसले जस्तो प्रधानमन्त्रीको पार्टीका सदस्यसँग छुट्टै गठबन्धन नबाउने एमालेले टिप्पणी गरेको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अन्य दलभित्र छुट्टै गठबन्धन निर्माण गर्ने काम गलत भएको बताएका हुन् ।
‘जिम्मेवार प्रतिपक्षले तपाईंलाई, तपाईंको सरकारलाई सहयोग गर्छ । हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार के गरिरहेको हेर्छौं । तपाईं र तपाईंको सरकारलाई गलत ठाउँमा गलत भन्दै तपाईंलाई सहयोग गर्छौं,’ नेम्वाङले भने, ‘पार्टीगत रुपमा तपाईंको पार्टीलाई सहयोग रहन्छ, तर एउटा कल्चर स्थापित गर्न हामी सधैँ लागेका छौं । तपाईंको पार्टीभित्र कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’
नेम्वाङले अर्को दलभित्र गठबन्धन निर्माण गर्नु गलत भएको र यो कुरालाई समर्थन गर्न नसकिने बताए । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्छौं भनेर पत्र लेखिए पनि त्यही दाबीमा अन्य दलका सांसदलाई स्वतन्त्र हैसियतको सांसद भनेर गलत संस्कार बसाएको आरोप लगाए ।
‘पार्टीभित्र अनुशासन चाहिने, आफ्नो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने प्रणाली स्थापित गर्न खोजेका हौं ? तपाईंहरू आफ्नो भित्र एउटा अनुशासन छ, विश्वासको मत लिने दिनमा तपाईंहरूले ह्वीप लगाउनु भयो, यो अनुशासन लाग्ने ठीक गर्नुभयो । यो तपाईंहरूकोमा लाग्ने अरूकोमा नलाग्ने हो ?’