०५ असार २०८३, शुक्रबार

काठमाडौंमा बढेको निषेधाज्ञामा भोलिदेखि के–के गर्न पाइँदैन ?

साउन १०, २०७८
काठमाडौंमा बढेको निषेधाज्ञामा भोलिदेखि के–के गर्न पाइँदैन ?

काठमाडौं उपत्यकामा साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी सहितको आइतवारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश भोलि सोमवार बिहान १ बजेदेखि लागू हुनेछ । 

आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ ।

खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रम समेत गर्न पाइने छैन । 

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौं प्रशासनले जनाएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेस्टुरेन्ट तथा फास्टफूड तथा अन्य अडरहरूको हकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । 

सिट क्षमता अनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको ९ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लास्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।

लामो दूरीका सवारीसाधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने १ कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ । 

गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदि उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।

आदेश पालना नगरेमा भने कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्