
जनता समाजवादी पार्टी (जसपा)को अल्पमत पक्षका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए पनि जनतामा गएर नयाँ पार्टी बनाउने बताएका छन् ।
प्राविधिक विभाजनबाट आफूहरू विचलित नहुने उनले बताए ।
सोमवार निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारहरूसँग कुरा गर्दै महतोले निर्वाचन आयोगले पार्टी फुटाइदिए पनि जनताले आधिकारिकता दिने बताएका हुन् ।
‘५१ जना कार्यकारिणी सदस्य मात्र दल होइन, यो प्राविधिक काम गर्यौं । प्राविधिक विभाजनबाट विचलित हुँदैनौँ,’ महतोले भने, ‘पतनतिर गइरहेको उपेन्द्र यादवलाई हामीले उद्धार गरेका थियौं । अहिले दुर्भाग्यपूर्ण स्थिति आयो ।’
महतोले हिजोसम्म आफूहरूसँग खुलेका साथीहरू ‘मजबुरी’का कारण उपेन्द्र यादवतिर लागेको टिप्पणी गरे । महतोले आफूहरूका लागि शेरबहादुर देउवा र केपी शर्मा ओली बराबर रहेको बताए । ‘उहाँहरू सबै प्रतिगामी हो, यो संविधान कांग्रेस, एमाले र माओवादी मिलेर बनाएको होइन ?,’ उनले प्रश्न गरे ।
जसपा विवादमा आयोगले कार्यकारिणी सदस्यहरूको सनाखत लिएसँगै उपेन्द्र यादव पक्षले दलको आधिकारिकताको मान्यता पाउने सम्भावना बढेर गएको देखिएको छ ।
उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।