
लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् ।
वैदेशिक रोजगार विभागले मंगलवार सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।
सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौताअनुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि १ हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ ।
सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलब ५३०० एनआईएस (१ लाख ९३ हजार) तोकिएको र तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ ।
सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो ।
इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैंले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध रोजगारदाताले नै उपलब्ध रोजगारमा जाने करार अवधि १ वर्षको हुने भए पनि करार थपेर ५ वर्षसम्म बस्न पाइने जनाइएको छ ।
रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेमा उनीहरूको उचाइ कम्तीमा १ दशमल ५ मिटर र ४५ किलो तौल भएको र कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी तालिम लिएको वा १० जोड २ सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी ३ महिना तालिम लिएको हुनुपर्ने जनाइएको छ ।
आवेदन दिनेहरू विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।