
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन शुरू भएको छ । उत्पादित विद्युत् चरणबद्ध रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिँदैछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते पहिलो युनिटबाट ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेर आयोजनाको उद्घाटन गरेका थिए ।
असार मसान्तसम्ममा १ सय ५२ मेगावाट विद्युत् उत्पादन शुरू भएको छ ।
एक दशकभन्दा लामो समयदेखि प्रतिक्षा गरिएको यस आयोजनाले उत्पादन शुरू गरेसँगै अहिले विद्युत् व्यवस्थापनबारे चासो बढेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा मात्रै निजी क्षेत्रबाट विभिन्न १ सय २४ आयोजनाबाट ८ सय १४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)ले चालू आर्थिक वर्ष २०७८/७९ मा पनि विभिन्न आयोजना पूर्ण हुने चरणमा रहेको बताएको छ ।
इप्पानका अनुसार ती आयोजनाहरू यसै आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
इप्पानका कार्यकारी व्यवस्थापक प्रबल भट्टराईले यसै आर्थिक वर्षमा विभिन्न आयोजना प्रसारण लाइनमा जोडिने बताए ।
गत आर्थिक वर्ष २०७७/७८ मा नै निर्माण सकेर प्रसारण लाइनमा जोड्ने भनिएपनि विभिन्न कारणले काम नसकिएको उनले बताए ।
निर्देशक भट्टराईका अनुसार यसरी निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने तयारीमा रहेका आयोजनाहरूमा माथिल्लो दोर्दी, न्यादी, तल्लो दोर्दी लगायत छन् ।
गत असार १ गते आएको बाढी तथा पहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न हुने मिति पर धकेलिएको छ । ती आयोजनाहरू समेत यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने र प्रसारण लाइनमा जोडिने इप्पानले जनाएको छ ।
इप्पानका कार्यकारी व्यवस्थापक भट्टराईले लोकान्तरसँग भने, ‘बाढीपहिरो लगायत विविध कारणले निर्माण सम्पन्न हुने मिति पर धकेलिएको छ । ती आयोजनाहरू समेत यसै आर्थिक वर्षमा निर्माण सकिन्छ भन्ने आशा राखेका छौँ ।’
उनले यस आर्थिक वर्षका लागि ४ सय १५ मेगावाटका १ सय ८० आयोजना निर्माण सम्पन्न हुने तयारीमा रहेको बताए ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ को अन्तिममा नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ५ सय ८२ मेगावाट रहेको थियो ।
यस्तै निजी क्षेत्र (आईपीपी)को ६ सय ९६ मेगावाट जडित क्षमता रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा यसअघिको ५ सय ८२ मेगावाटमा १२ मेगावाट सोलार थपिएको छ । यसबाहेक निजी क्षेत्रबाट १ सय १८ मेगावाटबाट व्यापारिक उत्पादन नै भयो ।
यसरी हेर्दा आव २०७७/७८ मा १ सय ३० मेगावाट उत्पादन थपिएको छ । यस्तै अन्य आयोजनाहरूबाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
प्राधिकरणका अनुसार असार ३१ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १ सय ५२ मेगावाट प्रसारण लाइनमा जोडिएको थियो । यस्तै सिंगटी खोलाबाट २५ मेगावाट, माइबेनीबाट साढे ९ मेगावाट थपिएको छ ।
यसबाहेक अन्य केही आयोजना पनि प्रसारण लाइनमा जोडिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोकान्तरलाई बताए ।
आव २०७७/७८ को शुरूआती चरणमा सरकारले करीब १५ सय मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरेको थियो ।
कोरोना महामारी लगायतका विभिन्न कारणले त्यो अपेक्षा पूरा हुन नसक्ने भएपछि केही समयपछि लक्ष्य संशोधन गर्दै करीब ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि सरकारले सो लक्ष्य पनि भेट्न सकेन ।
कोरोना महामारी, बाढीपहिरो लगायतका प्राकृतिक विपतका कारणले पनि लक्ष्य भेट्न नसकिएको प्राधिकरणका प्रवक्ता तिम्सिना बताउँछन् ।
उनका अनुसार, बाढीपहिरो तथा विपतका कारण पनि विभिन्न निर्माणाधीन आयोजनाहरू अन्तिम चरणमा पुगेका छन् ।
साञ्जेन जलविद्युत् आयोजना, भोटेकोशी, रसुवागढी जलविद्युत् आयोजना लगायतका आयोजनाहरू यसै आर्थिक वर्षको अन्तिमसम्ममा निर्माण तथा परीक्षण सफल भई उत्पादन शुरू गर्ने उनको भनाइ छ ।
‘आव २०७७/७८मा नै आउने भनिएको थियो, तर कोरोना र बाढी पहिरोका कारण निर्माण पर सर्यो, यसै आर्थिक वर्षको अन्तिमसम्म यी आयोजनाहरूबाट उत्पादन गर्ने सोचिएको छ,’ उनले भने ।
आव २०७७/७८ मा पूरा नभएका आयोजनाहरू यसै आर्थिक वर्षमा बाँकी करीब ११/१२ सय मेगावाट विद्युत उत्पादन हुने उनले बताए ।
यद्यपि आर्थिक वर्षको शुरूआती चरण नै भएको र कोरोना महामारी पनि कायमै रहेको अवस्थामा यकिन यति नै हुन्छ भन्न सकिने अवस्था नरहेको प्रवक्ता तिम्सिना बताउँछन् ।
विद्युतमा पूर्ण आत्मनिर्भर कहिले ?
पछिल्लो समय मुलुकमा विद्युत् उत्पादन वृद्धि हुँदै जाँदा विद्युतमा नेपाल कहिले पूर्ण आत्मनिर्भर होला भन्ने विषयमा चासो बढेको छ ।
माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै अब नेपालमा विद्युत् व्यवस्थापन कसरी हुन्छ भन्नेबारे चासो बढेको हो ।
हाल सामान्य अवस्थामा भारतबाट करीब २ सयदेखि ३ सय मेगावाट विद्युत् आयात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार समय समयमा आयात धेरै गर्नुपर्ने भएपनि सामान्य अवस्थामा भने करीब १ सय ८० मेगावाटदेखि २ सय वा ३ सय मेगावाटसम्म आयात भइरहेको छ ।
विद्युत् प्राधिकरणका प्रवक्ता तिम्सिनाले कहिलेकाहीँ भने आयात बढ्न जाने भन्दै सामान्य अवस्थामा भने आयात घट्दो क्रममा रहेको बताए ।
उनका अनुसार गत माघ र वैशाखमा नेपालमा भारतबाट करीब ७ सय मेगावाटसम्म विद्युत् आयात भएको थियो ।
माथिल्लो तामाकोशी प्रसारण लाइनमा नजोडिँदा विद्युत् केही बढी आयात भएको उनले सुनाए ।
माथिल्लो तामाकोशी आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आगामी बर्खा सिजनमा भारतबाट विद्युत् आयात गर्न नपर्ने प्रवक्ता तिम्सिनाले बताए । यद्यपि हिउँदमा भने अझै २ /३ वर्ष आयात गर्नुपर्ने अवस्था रहने उनको भनाइ छ ।
उनले भने, ‘वर्षा सिजनमा विद्युत् आयात गर्न नपर्ने अवस्थामा हामी पुगिसक्यौँ, तर हिउँदमा भने अझै ३ वर्ष आयात गर्नुपर्ने हुनसक्छ ।’
उनका अनुसार हिउँदमा उत्पादन कम हुने भएकाले आयात गर्नुपर्ने अवस्था रहेको हो ।
कसरी हुन्छ विद्युत व्यवस्थापन ?
विद्युत उत्पादन गर्दै जाँदा यसको व्यवस्थापनको पनि तयारी भइरहेको छ ।
अहिले मुलुकभित्रै करीब साढे ४ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् उद्योगहरूले माग गरिरहेको भन्दै विद्युत् प्राधिकरणले यसबारेमा पनि अध्ययन भइरहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाले विद्युत् माग भइरहेका कतिपय उद्योगमा विद्युत् दिन नसकेको भन्दै यसका लागि बजेट विनियोजन गर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘हामीले आवश्यक परेको ठाउँमा सबस्टेसन, ट्रान्समिसन लाइन लगायत निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि बजेट विनियोजन गरेर अगाडि बढ्नुपर्छ ।’
उनले यी सबै भइसकेपछि पहिलो प्राथमिकता मुलुकभित्रै विद्युत् उपभोग गर्ने भएको बताए ।
यद्यपि मुलुकभित्र विद्युत् बढी भएमा बिक्रीका लागि अभ्यास शुरू भएको उनले सुनाए ।
उनका अनुसार प्राधिकरणले पहिलो ट्रायलका रूपमा पञ्जाब इलेक्ट्रिसिटी बोर्डमा बिडिङ गरेर ४० मेगावाट बेच्ने भनेर भाग लिएको छ । यद्यपि यसको नतिजा आइसकेको छैन ।
उनले भने, ‘नतिजा आएपछि यसमा सफल भए अन्यमा पनि सोही अनुसार क्रमशः बिडिङ गर्दै जान्छौँ ।’