
नेकपा एमाले भित्रको आन्तरिक किचलो बढ्दै गएका बेला बझाङमा एमाले एकैठाउँमा हुने भएको छ ।
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।
उनले भने, ‘पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरूसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।’
जिल्लाका शीर्ष नेताहरूबाट केही दिनभित्रै औपचारिक रूपमा पार्टी एकताको सन्देश आउने उनको भनाइ थियो ।
पूर्व वनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरू २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिए । उनले भने, ‘एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरू पनि एकताको पक्षमा उभिएका हौं । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं ।’
जिल्लास्थित अन्य नेता तथा कार्यकर्तासँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उनले बताए । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरू पनि लागिपरेका छन् । हालसम्म एकताका पक्षमा सबै नेताहरू सकारात्मक भएकाले एकताको छलफल करीब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताइन् ।