
काठमाडौं, २७ जेठ -पाटन अस्पतालमा माथिबाट खसेको बासले लाग्दा एक जना घाइते भएका छन् ।
पाटन अस्पतालमा भिनाजुको उपचारका लागि गएका काठमाडौं भैसेपाटी निवासी सुदीप थापा निर्माणधिन पाटन अस्पतालको तेस्रो तलाबाट खसेको बासले टाउकोमा लाग्दा घाइते भएका हुन् ।

पाटन अस्पतालको एउटा भवनको माथिल्लो तल थप गर्ने कार्य भइरहेको छ । निर्माणका क्रममा माथि बाधिएको बास खस्दा दुर्घटना भएको अस्पताल प्रशासनले बताएको छ ।
माथिबाट खसेको बासले भुइमा छाइएको फाइबरलाई प्वाल पारेर थापाको टाउकोमा बजारिएको छ । उनको टाउकोमा चोट आएको र अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

घाइतेका आफन्त र सर्वसाधारणले भने भिडभाड हुने स्थानमा अस्पताल प्रशासनले लापरवाही ढंगले काम गरेको भन्दै विरोध गरेका छन् । अस्पतालले घटना दुखद् भन्दै आगामी दिनमा गम्भीर र सजग हुने बताएको छ ।