०४ असार २०८३, बिहीबार

राणाकालमा बनेको कारागार जीर्ण भई चुहिँदा कैदीबन्दीलाई सास्ती

साउन १३, २०७८
राणाकालमा बनेको कारागार जीर्ण भई चुहिँदा कैदीबन्दीलाई सास्ती
प्रतिकात्मक तस्वीर

राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ ।

अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिँदा कैदीबन्दी प्लास्टिकको छानो हालेर रात बिताउन बाध्य छन् ।

जिल्ला कारागारका नाइके दीपेन्द्र जेठाराले भने, ‘बाहिर सामान्य पानी पनि पर्नु हुँदैन सबैभित्र छिर्छ, बढी पानी पर्दा भाँडाकँुडा थापेर सुत्नुपर्छ, थपिएको भाँडा भरिए पटक–पटक पानी फाल्नुपर्ने अवस्था छ, सारै पीडा भयो ।’

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कारागार चुहिने भएकाले कैदीबन्दीलाई हिजोआज निकै समस्या भएको बताए । उनले भने, ‘भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ, कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौं, बजेट आएको छैन ।’

जेल प्रशासनले जीर्ण भएको कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा समस्या भएको हो ।  

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको छ । ‘दिउँसो हामी बाहिर चौरमा हुन्छौं, सामान्य हुरी चल्दासमेत सिलेट खसेर   कस्को टाउकामा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ, पानी पर्दा चुहिन्छ, हाम्रा पीडा कसैले बुझेनन् ।’

पर्खालभित्रको ढोका समेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको नाइके जेठाराले जानकारी दिए ।

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागार प्रशासन प्रमुख लालबहादुर बोगटीले बताए । उनले भने, ‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ, फर्समा पानी चुहिने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।’

कारागारमा कूल २५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण एउटै कोठामा १२ देखि १५ जनासम्म सुत्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्