२६ जेठ २०८३, मंगलबार

संसदीय दलमा बहुमत जुटाउने माधव नेपाल पक्षका सांसदको दाबी

संसदीय दलमा बहुमत जुटाउने माधव नेपाल पक्षका सांसदको दाबी
फाइल तस्वीर।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले केही साताभित्र एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई बहुमतबाट विस्थापन गर्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले संसदीय दलमा बहुमत सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् । 

नेपाल समूहका सांसदहरूको आज शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा छलफल आयोजना गरिएको थियो । जसमा माधव नेपालले सबै सांसदहरूका सल्लाह सुनेका थिए । 

छलफलमा सहभागी १९ जना सांसदहरूले संसदीय दलमा बहुमत स्थापित गर्न अन्तिम प्रयास गर्नुपर्ने बताएको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिए । उनी दाङ क्षेत्र नम्बर–१ बाट संघीय प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । 

‘अबको १५ दिन हामी संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा लाग्छौं । बहुमत पुर्‍याएर केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउँछौं र सरकारमा पनि सहभागी हुन्छौं । सरकारमा सहभागी हुने विषयमा सबै माननीयहरूको एक मत छ, ’ उनले भने । 

बैठकमा सहभागी अर्का सांसद विरोध खतिवडाले पनि संसदीय दलमा बहुमतको प्रयासमा लाग्ने बारेमा घुमाउरो रूपमा स्वीकार गरे । तपाईंहरू बहुमत स्थापित गरेर संसदीय दलकोे नेतालाई हटाउने अन्तिम प्रयास गर्दै हुनुहुन्छ हो ? भन्ने प्रश्नमा खतिवडाले भने, ‘कुन उपगुटले आफ्नो बहुमत स्थापित गर्न चाहँदैन ? म एक्लैले बहुमत स्थापित गर्ने कुरा होइन । बहुमतमा रहने प्रयास त जहिले पनि हुन्छ ।’ 

खतिवडा पनि आजको छलफलमा सहभागी भएका थिए । उनी मकवानपुर क्षेत्र नं २ बाट संघीय प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । 

नेपाल पक्षकै अर्की सांसद कल्याणी खड्काले पनि संसद् विघटन अदालतले बदर गरेर कार्यान्वयन पनि भइसकेकाले सांसदहरू स्वतः संविधान, लोकतन्त्र र व्यवस्था जोगाउने पक्षमा आउने तर्क गरिन् । 

‘संसद् पुनःस्थापनालाई त सबै माननीयहरू स्वीकार्नु भएको छ । सानदार रूपमा संसद्मा आउनुभएको छ । अदालतको निर्णयलाई कार्यान्वयन गर्नु भएको छ,’ उनले भनिन्, ‘संसद् पुनःस्थापना गलत थियो भने त उहाँहरू राजीनामा दिएर हिँड्नुपर्ने हो । त्यो त कसैले गर्नुभएन । त्यसैले उहाँहरू संविधान र लोकतन्त्र जोगाउने पक्षमा आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

बैठकमा सहभागी सांसदहरूले सम्मानसहितको पार्टी एकता हुँदा त्यसलाई स्वीकार्न सकिने तर, लतारिएर भने नजाने अडान दोहोर्‍याएका थिए । ‘पार्टी अध्यक्षले संसद् विघटन गर्नु गल्ती थियो भन्ने स्वीकारेर कमजोरी सच्याउन तयार हुन्छन् भने पार्टी एकताको लागि सदैव तयार रहनुपर्ने छलफलमा सांसदहरूले बताएका थिए । 

छलफलमा सांसदहरूको कुरा सुनेपछि वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्षले कमीकमजोरी सच्याउँछन् भने आफू पार्टी जहाँसुकै रहेर पनि काम गर्न तयार रहेको बताएका थिए । ‘माधव नेपाल पदको लागि लडेको होइन । अहिले पद खोज्यो भनेर पदलोलुप देखाउन खोजिएको छ । हामीले संविधान र व्यवस्था जोगाएका हौं । यो ठीक काम गरेका छौं । कमीकमजोरी सच्चिन्छन् भने जहाँ बसेर पनि पार्टीको काम गर्न तयार छु, ’ नेपाललाई उद्धृत गर्दै सांसद खड्काले भनिन् । 

तत्कालका लागि सरकारमा जाने वा नजाने भन्ने कुरा गौण भएको उनले बताइन् । ‘हामीले बाध्यात्मक अवस्थामा संविधान र व्यवस्था जोगाउने काम गरेका हौं । पदका लागि यी सबै काम गरेका होइनौं । सरकारमा जाने, नजाने भन्ने गौण कुरा हो, ’ खड्काले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्