कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ ।
परिसरको प्राङ्गणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो ।
सम्मान हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ,जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रबन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्य, टेवा संस्थाका अध्यक्ष छिङ लमू शेर्पा, उपकार सेवा नेपालका कार्यकारी सदस्य अग्रवाल, थ्रेड गार्मेन्टका प्रोप्राइटर कृष्णराज तिमल्सिना, डिलाइट पार्टी भेन्टका प्रोपाईटर चेतनाथ बजगाई र अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ रहेका छन् ।
सम्मानित सबै संस्थाहरुलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । सम्मानपछि सम्बोधन गर्दै डा. सञ्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले स्वास्थ्य सामाग्री सहयोग गर्ने अवसर दिएकोमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई धन्यवाद दिए ।
सामाजिक क्षेत्रमा आफ्नो छुट्टै विशिष्ट पहिचान बनाउन सफल निर्देशक श्रेष्ठले महानगरीय प्रहरी परिसर ललितपुरमा भएका सवै महिला प्रहरीलाई निशुल्क स्वास्थ्य जाँच गरिदिने घोषणा समेत गरेका छन् । डा. सञ्चो क्लिनिकले परिसरलाई ५ सय थान सेनिटाइजर, २५ सय वटा माक्स, १५ सय पिस पञ्जा, भिटामीन सी एक हजार वटा र भिटामीन बी कम्प्लेक्स १२ सय वटा हस्तान्तरण गरेको थियो ।